काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको छ ।

एमालेले वहालवाला मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई प्रतिस्थापन गर्दै मेन्याङ्बोलाई नेतृत्व दिने तयारी गरेको छ । एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको सत्ता सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम नेपाली कम्युनिस्ट पार्टीको भागमा परेको छ । त्यससँगै कोशीमा सरकार पुनर्गठनको गृहकार्य अघि बढेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कोशीको नेतृत्व परिवर्तनलाई प्राथमिकतामा राखेका छन् । पछिल्लो समय ओली र मुख्यमन्त्री कार्कीबीच सम्बन्ध अपेक्षाकृत सहज नरहेको र त्यसकै प्रभाव नेतृत्व परिवर्तनमा परेको हो । ओली कार्कीलाई जसरी भए पनि हटाएर नयाँलाई नेतृत्व दिने पक्षमा रहेका छन् ।
ताप्लेजुङ–१ (१) बाट निर्वाचित मेन्याङ्बो प्रदेश संसदीय दलका उपनेता हुन् । कार्की नेतृत्वको पहिलो प्रदेश सरकारमा उनले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद् पुनर्गठनका क्रममा केही समय स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि उनले सम्हालेको थिए ।














