Logo
Logo

मोदीको पक्षमा सर्वेक्षण | चुनावी मतसर्वेक्षणको नतिजा गलत : थरुर


नयाँदिल्ली/एएनआई


नयाँदिल्ली, ६ जेठ (एएनआई) । भारतका अधिकांश टेलिभिजन च्यानलमा प्रसारित सबैजसो चुनावी मतसर्वेक्षणले भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले नै केन्द्रमा सरकार बनाउने आँकलन गरेका छन् । यससँगै प्रधानमन्त्री नरेन्द्र मोदीले नै आगामी सरकारको नेतृत्व गर्ने सर्वेक्षणमा देखाइएको छ ।
तर, भारतीय कंग्रेस पार्टीका वरिष्ट नेता शशी थरुरले चुनावी मतसर्वेक्षणका प्रक्षेपणहरु गलत रहेको बताएका छन् । उनले त्यसलाई अस्वीकार गरेका छन् । उनले आगामी बिहीबार सार्वजनिक हुने मतगणनालाई मात्र विश्वास गर्न सकिने बताए ।
‘चुनावी मतसर्वेक्षण सबै गलत रहेको मेरो बुझाई छ । गतसाता अस्ट्रेलियामा सम्पन्न ५६ विभिन्न मतसर्वेक्षण सबै गलत साबित भएका थिए । भारतमा पनि धेरै मानिसले सर्वेक्षकलाई सबै कुरा बताउँदैनन् । वास्तविक परिणाम त आगामी बिहीबार मात्र थाहा हुनेछ’ थरुरले ट्वीट गर्दै भनेका छन् ।
एक अर्को ट्वीटमा नेता थरुरले मतसर्वेक्षणमा आएका काल्पनिक संख्याका बारेमा निरर्थक बहस गर्नुको कुनै औचित्य नभएको बताए ।
थरुरझैं धेरैजना विपक्षी नेताहरुले मतसर्वेक्षणका नतिजाप्रति आपत्ति जनाएका छन् । नेसनल कन्फ्रेन्सका नेता ओमर अब्दुल्लाहले टिभी र सोसल मिडिया बन्द गरेर आगामी बिहीबारको दिनलाई पर्खनु नै बुद्धिमानी हुने बताए ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुले पनि चुनावी मतसर्वेक्षणले आम मानिसको भावनालाई समेट्न नसकेको बताएका छन् । हरेक पटकका मतसर्वेक्षणहरु सही नभएका र धरातलीय यथार्थबाट टाढा रहेको पाइएको छ, नायडुले भने, ‘आफ्नो पार्टी टिडीपीले आन्ध्र प्रदेशमा जित्ने कुरामा कुनै शंकै छैन, भारतीय जनता पार्टी बाहेकको सरकार केन्द्रमा बन्दैछ ।’

प्रतिक्रिया दिनुहोस्