Logo
Logo

‘ओमिक्रोन’ फैलन नदिन सीमानाकामा कडाइ



धनगढी । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण फैलन नदिन सीमानाकामा सर्तकता अपनाउन थालिएको छ । भारतमा ओमिक्रोन संक्रमितको संख्या बढेसँगै भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाकामा चेकजाँच कडाइ गरिएको हो ।

भारतका आमिक्रोन फैलिएपछि सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम भएकाले सीमानाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए ।

उनका अनुसार भारतसँग सीमा जोडिएका मुख्य नाका गड्डाचौकी, त्रिनगर, झुलाघाट, पुलघाट लगायत नाकामा उच्च सतर्कता अपनाइएको छ ।
उनले भने, ‘आवागमन बढी हुने नाकामा हामीले उच्च सतर्कता अपनाएका छौँ । पहिलो चरणको कोरोना संक्रमण फैलिँदा परीक्षणको दायरा बढाइएको र दोस्रो चरणमा अक्सिजन आपूर्ति गरिरहेका छौँ । नयाँ भेरियन्टले जस्तो रूप लिन्छ हामी त्यहीअनुसार तयारी गर्छौं ।’

ओमिक्रोन फैलिहाले पनि सघन उपचार कक्ष, भेन्टिलेटर, अक्सिजन प्लान्टलगायत आवश्यक उपकरण जडान भएकाले पहिलो चरणको जस्तो समस्या नहुने अवस्थील ले बताए ।

प्रदेशमा छैन प्रयोगशाला

सुदूरपश्चिम प्रदेशमा नयाँ भेरियन्टको कोरोना भाइरस पत्ता लगाउने उपकरण नहुँदा चुनौती रहेको सेती प्रादेशिक अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीले बताए । उनले भने, ‘ओमिक्रोनको संक्रमण नेपालमा पनि देखिसकेको छ । ओमिक्रोन मात्र नभएर यसअघिका भेरियन्ट पनि पत्ता लगाउने प्रयोगशाला छैन ।’

सुदूरपश्चिममा कोभिड पुष्टि भएका १३ जनाको स्वाब ओम्रिकोना परीक्षणको लागि कामठमाडौं पठाइएको उनले जानकराी दिए । ‘संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाएका छौं,’ उनले भने, ‘अहिलेसम्म यहाँ भेरियन्ट पत्ता लगाउने उपकरण छैन । सुदूरपश्चिम प्रदेशमा नयाँ भेरियन्ट भित्रिएको या नभित्रिएकोबारे हामीले पठाएको स्वाबको नतिजा आएपछि मात्र पुष्टि हुन्छ ।’


सुदूरपश्चिमसँग जोडिएका सीमानाकाबाट स्वदेश फर्किनेको त्यहीँ नियमित कोरोना परीक्षण गरिँदै आएको छ । नाकामा रिपोर्ट पोजेटिभ देखिएकालाई आइसोलेसनमा राख्ने र नमुना संकलन गरी काठमाडौं पठाउन थालिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले भने पिसिआर मेसिनबाटै ओमिक्रोन पत्ता लगाउनका लागि सम्भाव्यता अध्ययन गर्ने तयारी भइरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्