काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बिहानदेखि मतगणना भइरहेको छ ।

अहिलेसम्म ३१२० मत गणना भएको पार्टीको निर्वाचन समितिले जनाएको छ । मत परिणाम अनुसार गगन थापा पहिलो नम्बारमा छन् । उनले २०३७ मत पाएका छन् ।
योसँगै थापाको विजयी पक्का भएको छ । गणना भइरहेको मतमध्ये थापाले ६५ प्रतिशत मत पाइरहेका छन् । बिहीबार भइरहेको मतगणनामा थापाले सुरुवातदेखि अग्रता लिइरहेका थिए।
दोस्रो नम्बरमा विश्वप्रकाश शर्माले पनि अग्रता बढाउँदै लगेका छन् । उनले १२५५ मत प्राप्त गरेका छन् । प्रकाशशरण महत १०२४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै प्रदीप पौडेलले ९३५ सय मत पाएका छन् भने मीनेन्द्र रिजालले ५४६ मत पाउँदा डा राजाराम कार्कीले ७५ मत पाएका छन् ।
कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ । महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ ।
महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् भने मीनेन्द्र र गगन शेखर कोइराला प्यानलबाट उठेका हुन् । विश्वप्रकाश शर्माले भने प्रकाशमान सिंह समूहबाट उठेका हुन् ।














