काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का पुर्णकालिन सदस्यले मासिक १० हजार रुपैयाँ पार्टीबाट पाउने भएका छन् ।
एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावअनुसार काठमाडौं जिल्ला भित्रका पूर्णकालीन सदस्यलाई १० हजार रुपैयाँको व्यवस्था गर्न लागेको हो ।
‘जिल्ला कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिनेछ’ कार्कीले भने ।
सदस्यता वितरण, संगठन निमार्ण र परिचालन सम्बन्धका बारेमा उल्लेख गर्दै टोली निमार्ण र ८ माघमा परिचालन गर्ने भन्दै काठमाडौं जिल्लामा मात्र २० जना सदस्यलाई पूर्णकालिन सदस्य मान्दै मासिक दुई लाख खर्च गर्ने प्रस्ताव अध्यक्ष कार्कीले गरेका हुन् ।
यसैगरी काठमाडौं जिल्ला कमिटीका सदस्यहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने नियम लागू गर्दैछ ।
एकीकृत समाजवादी केन्द्रीय कमिटीको निर्देशनअनुसार काठमाडौं जिल्ला कमिटीका सदस्यले माघ मसान्तभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनु पर्ने नियम बनाउन लागेको हो ।
चलअचल सम्पत्तिदेखि बैंकमा रहेको रकम तथा सेयरदेखि सुनचाँदीका विवरण भरेपछि मात्र साधारण सदस्यता दिइने गरी अध्यक्ष कार्कीले प्रस्ताव पेस गरेका छन् ।
‘प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ३५ दिनभित्र जिल्ला कमिटीका सदस्यहरुले जिल्ला पार्टी कार्यालयमा सम्पत्ति विवरण बुझाउनु पर्नेछ,’ कार्कीको प्रस्ताव उल्लेख छ, ‘यस आर्थिक वर्षका लागि माघ मसान्तभित्र सम्पत्ति विवरण बुझाउनु पर्नेछ ।’














