Logo
Logo

राजधानी नरहेपनि बुटवल बुटवल नै रहनेछ : गृहमन्त्री खाँण



कुटवल । गृहमन्त्री बालकृष्ण खाँणले प्रदेशको राजधानी नहुँदै बुटवलको विकासमा कुनै फरक नपर्ने बताएका छन् ।

शनिबार गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन उद्घाटन गर्दै मन्त्री खाणले सबैको साझा प्रयत्नबाट बुटवललाई अब्बल बनाउन सकिएको बताएका हुन् । उनले भने, ‘आफ्नै इतिहास र बलबुताले बुटवल अहिलेको अवस्थामा स्थापित भएको हो । त्यसैले राजधानी नरहे पनि बुटवल बुटवल नै रहनेछ ।’

गृहमन्त्री खाँणले रूपन्देहीको विकासका लागि आफ्नो क्षेत्रबाट धेरै प्रयासहरू भइरहेको बताउँदै भने, ‘जनताले विकासका लागि नै जनप्रतिनिधि निर्वाचित गरेका हुन्, जे कामका लागि जनताले पठाएका हुन् त्यही काम गर्दा के जस लिनु ।’

उनले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चामत्कारिक उपलब्धी हासिल गरे पनि गरिबीको संख्या बढेको बताए । स्वास्थ्य क्षेत्रमा सरकारी अस्पताल कमजोर हुँदा जनताले निजी अस्पतालमा महँगो उपचार लिन बाध्य भएकोले सरकार सरकारी तथा सामुदायिक अस्पतालहरूको प्रवद्र्धन गर्न अग्रसर रहेको उनको भनाइ छ ।

गृहमन्त्री खाँणले गौतमबुद्ध सामुदायिक अस्पतालको लागि तिलोत्तमा नगरपालिकामा प्रस्ताव गरिएको जग्गा हालसम्म पनि उपलब्ध हुन नसक्नु दुःखद् रहेको उल्लेख गर्दै आफूले सरकारको तर्फबाट जग्गा उपलब्ध गराउन पहल गर्ने बताए ।

कार्यक्रममा अस्पतालका अध्यक्ष एजाज आलमले सरकारले जग्गा उपलब्ध गराए दुई वर्षभित्र ८ सय बेडको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न आफूहरू तयार रहेकोले जतिसक्दो छिटो जग्गा उपलब्ध गराउन गृहमन्त्रीसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्