काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलामा नेपालले आज आफ्नो तेस्रो खेलमा क्यानडाको सामना गर्दै छ ।

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ । नेपालले यसअघि भएका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित हासिल गरेको थियो । नेपालले पहिलो खेलमा क्यानडालाई र दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो ।
हाल लिग २ को अंकतालिकामा नेपाल ३४ खेलबाट २८ अंक जोड्दै छैटौँ स्थानमा छ भने क्यानडा ३५ खेलबाट २७ अंकका साथ सातौँ स्थानमा रहेको छ । क्यानडाले सुरुका दुई खेलमा ओमान र नेपालसँग हार बेहोरे तापनि बिहीबार भएको खेलमा ओमानलाई पराजित गरेको थियो ।
क्यानडाको उक्त जितका कारण नेपालको शीर्ष ६ मा पर्ने सम्भावना अझै पूर्ण रूपमा पक्का भइसकेको छैन । त्यसैले आजको खेलमा क्यानडालाई पराजित गरेमा नेपालको छैटौँ स्थान सुरक्षित हुनेछ । यदि आजको खेलमा नेपाल पराजित भएमा भने छैटौँ स्थानमा रहनका लागि सोमबार हुने अन्तिम खेलमा ओमानलाई अनिवार्य रूपमा हराउनुपर्ने हुन्छ ।














