Logo
Logo

विप्लवले जनसेनाका चार कम्पनी निर्माण गरिसकेको गृहमन्त्रीको दावी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ जेठ । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जनसेनाको रुपमा चार कम्पनी निर्माण गरिसकेको दावी गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री थापाले जनसरकारको रुपमा जनपरिषद भन्ने संस्थाको र जनसेनाको रुपमा चारवटा कम्पनी निर्माण गरेको जानकारी दिए
आइतबार साँझ उपत्यका गराएको विष्फोटपछि कडा सुरक्षा बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका गृहमन्त्री थापाले विप्लव समूहको मुख्य निशानामा राजधानी रहेको पनि बताए ।
गृहमन्त्री थापाले भने, ‘केही समयदेखि यता विप्लव नेतृत्वको नेकपा संविधान, राज्यव्यवस्थाविरुद्ध र शान्ति विरोधी गतिवधि गर्दै आएका छन् ।’ नेकपाले सशस्त्र र गैरकानूनी गतिविधि सञ्चालन गर्दै आएका बताउँदै थापाले निर्वाचनको बेलादेखि शुरु भएको गतिविधिको निरन्तरता अहिलेसम्म देखिएको बताए । आइतबार र आज सोमबार देशभर आगजानी र विस्फोटका घटनाहरु भएको भन्दै गृह मन्त्री थापाले विस्फोटमा परी हालसम्म चार जनाको मृत्यु भएको जानकारी दिए । उनले मृत्यु हुने सबै विप्लवको संगठनसँग सम्बन्धित व्यक्ति रहेको पनि बताए ।
गृहमन्त्री थापाले आइतबार आइत्बार साँझ बुढानिलकण्ठ नगरपालिका–४ ढलाने पुल नजिक जस्ताले छाएको एक तले घरमा रहेको महोत्तरी घर भएका जिव कुमार ठाकुरको पसलभित्रको कोठामा बम विस्फोट भएको जनाउँदै उक्त घटनामा एक पुरुषको घटनास्थालमा नै र घाइते ६ मध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको जानकारी गराए ।
त्यस्तै, आइतबार नै मैतिदेवि लोकमञ्जरी कार्की तीन तले घरमा भएको विस्फोटमा बझाङका २७ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको छ भने घटनामा घाइते भएका रुकुम जिल्लाका २६ वर्षीय रविन केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गृहमन्त्री थापाले आइतबार साँझ नै चन्द्रागिरी–३ मा भएको विस्फोटमा थानकोट वृत्तले मोटरसाइकलमा प्रेसर कुकरको टुक्रासहित घाइते दुई जनालाई फेला पारेको बताए ।

प्रतिक्रिया दिनुहोस्