Logo
Logo

माओवादीलाई पदाधिकारी चयनमा सकस, महासचिवका लागि अनन्त र प्रभाकरबीच छेकाछेक



काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको आज बस्ने बैठकबाट पदाधिकारी चयन हुँदैछ । अध्यक्षसहित १५ पदाधिकारी केन्द्रीय समितिको बैठकबाट सर्वसम्मत चयन हुने नवनिर्वाचित केन्द्रीय सदस्य कृष्णबहादुर महराले बताए ।

आज अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकमार्फत पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ । पदाधिकारीको टुंगो लागिसकेपछि पोलिटव्युरो र स्थायी कमिटी गठन हुने बताइएको छ ।

‘सर्वसम्मत पदाधिकारी टुंगो लगाउँने बारेमा प्रचण्ड कमरेड आन्तरिक गृहकार्यमा हुनुहुन्छ । सर्वसम्मत भए आजैको बैठकबाट हुन्छ । सर्वसम्मत नभइ चुनावबाटै पदाधिकारी चयन गर्नुपर्ने अवस्था आएमा दुई चार दिन लिम्बिन सक्छ’ प्रचण्ड निकटका एक नेताले भने ।

निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार महाधिवेशनको बन्दसत्रमा २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली बजाएर अनुमोदन गरिसकेको छ ।

कूल २९९ सदस्यीय केन्द्रीय समितिमा अब क्लस्टर अर्थात् समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्य घोषणा हुन बाँकी छ । बाँकी केन्द्रीय सदस्य केन्द्रीय समितिबाट मनोनीत हुनेछन् ।

माओवादीको विधानअनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष हुनेछन् ।

बैठकबाट अध्यक्षमा प्रचण्ड र वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुने निश्चित छ । उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गणेश साह हुने चर्चा छ ।

महासचिवका लागि ६ नेता आकांक्षी छन् । महरा, गुरुङ, भुसाल, पुन, शर्माका साथै शक्ति बस्नेतमध्ये एक जना महासचिव हुने चर्चा माओवादीभित्र रहेको छ । पुन र शर्माले एकअर्कालाई रोक्नका लागि आफै महासचिव हुन नसकेको अवस्थामा अरु नेतालाई अघि सारिरहेका छन् ।

पुनले आफू महासचिव नभए शक्तिबहादुर बस्नेतलाई र शर्माले भुसाललाई अघि सारेका छन् । महरा आफै हुनुपर्छ भन्ने प्रतिस्पर्धामा नभए पनि प्रचण्डले अन्य नेताहरु प्रतिस्पर्धामा आउँदा पूर्वमहासचिव भएकाले महरालाई नै अघि सार्न सक्ने अनुमान गरिएको छ । महासचिवका शक्तिशाली दाबेदारको रुपमा चर्चा भइरहेका पुन अहिले उपचारका लागि चीनमा छन् ।

दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष तत्कालीन स्थायी कमिटी सदस्य मध्येबाट ल्याउँने गृहकार्यमा प्रचण्ड छन् । यद्यपि, पूर्वपोलिटव्यूरो सदस्य भइसकेका शशी श्रेष्ठ सहितका नेतालाई समेत पदाधिकारीमा ल्याउँने बारेमा छलफल जारी छ ।

माओवादी केन्द्रमा यसअघि स्थायी समितिमा रहेका प्रचण्डसहित नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, गणेश साह, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत र चक्रपानी खनाल पदाधिकारीका आउने लगभग निश्चित छ ।

महाधिवेशनबाट केन्द्रीय समिति चयन भइसकेको छ । अब केन्द्रीय समितिले पदाधिकारी, स्थायी समिति र पोलिट्व्युरो चयन गर्नेछ । यी तीनै संरचनामा समावेशी सिद्धान्तका आधारमा नेतृत्व चयन गरिने नेता देव गुरुङले बताए ।

२९९ सदस्यीय केन्द्रीय समितिले पूर्णता पाएपछि केन्द्रीय समितिबाट ९९ सदस्यीय पोलिटव्युरो र ३३ सदस्यीय स्थायी समितिको गठन हुनेछ । माओवादीले ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक प्रणाली अनुसार समिति गठन गर्ने विधान बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्