Logo
Logo
राष्ट्रियसभा सदस्यको निर्वाचन

यस कारण प्रदेश २ मा एमालेको पराजय निश्चित



काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश २ मा दुई सिटका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुँदैछ । तर, मतभारको आधारमा सत्तारुढ पाँच दलीय गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश २ मा साझा उम्मेदवार उठाएका छन् ।

प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको छुटाछुट्टै उम्मेदवारी परेको छ । प्रदेश २ महिलातर्फ माओवादी केन्द्रबाट उर्मिला अर्याल, लोकतान्त्रिक समाजवादी पार्टीबाट रुपाकुमारी यादव र एमालेबाट विना देवीको उम्मेदवारी परेको छ ।

यस्तै, अन्यमा समूहतर्फ जसपाबाट महमद खालिद र एमालेबाट उसमान अन्सारीको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवार प्रचारप्रसार गर्दै मतदातासँग मत मागिरहेका छन् ।

प्रदेश २ मा पाँच दलीय गठबन्धन एकातिर छ भने एमाले र लोसपाले छुटाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । एमाले र लोसपा बीच गठबन्धन बन्न नसक्दा छुटाछुट्टै उम्मेदवारी दर्ता भएको हो ।

निर्वाचन आयोगका अनुसार देशैभरीबाट १९ सिटका लागि ४३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । माघ १२ गते हुने निर्वाचनमा सम्बन्धित प्रदेशका प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानूनी व्यवस्था छ ।

कुन दलको मतभार कति ?
प्रदेश २ मा पाँच दलीय गठबन्धनको मतभार बढी छ । प्रदेश २ मा १०४ जना सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ६९ रहेका छन् । सांसदको मतभार ४८ हो भने प्रमुख र उपप्रमुखको मतभार १८ हो । जसको जम्मा मतभार ९ हजार ८७० हुन्छ ।

प्रदेश २ मा पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको मतभार ७ हजार ३०२ हुन्छ । यस आधारमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजित गर्न एमालेलाई सम्भव छैन । एमाले र लोसपा मिल्दासमेत पाँच दलीय गठबन्धनका उम्मेदवारलाई पराजीत गर्न सक्दैनन् ।

प्रदेश २ मा जसपाको सांसद संख्या ३९ छ भने प्रमुख उपप्रमुखको संख्या ६२ हो । जसको जम्मा मतभार २९ सय ८८ हुन्छ । यस्तै कांग्रेसको सांसद संख्या १९ र प्रमुख उपप्रमुखको संख्या ७५ हो । जसको मतभार २२ सय ६२ हुन्छ ।

माओवादी केन्द्रको प्रदेश २ मा सांसद संख्या ८ र प्रमुख, उपप्रमुखको संख्या ४५ हो । जसको मतभार ११ सय ९४ हुन्छ । यस्तै, एकीकृत समाजवादीको सांसद संख्या १३ र प्रमुख उपप्रमुखको संख्या ७ हो । जसको मतभार ७ सय ५० हुन्छ ।

एमालेको सांसद संख्या ८, प्रमुख र उपप्रमुखको संख्या ३० हो । जसको मतभार ९ सय २४ हुन्छ । यसैगरी लोसपाको सांसद संख्या १६, प्रमुख र उपप्रमुखको संख्या ४४ हो । जसको मतभार १५ सय ६० हुन्छ ।

प्रदेश २ मा नेपाल संघीय समाजवादीको सांसद एक हो । उसको मतभार ४८ हुन्छ । यस्तै, नेपाली जनता दलको प्रमुख र उपप्रमुख २ छ । उसको मतभार ३६ हुन्छ ।

यस्तै, तत्कालीन लोकतान्त्रिक फोरमको स्थानीय तहमा प्रमुख र उपप्रमुखको संख्या ६ हो । जसको मतभार १ सय ८ हुन्छ । बिजय गच्छेदार नेतृत्वको लोकतान्त्रिक फोरम कांग्रेससँग एकीकरण गरिसकेकाले ती प्रमुख र उपप्रमुख पनि कांग्रेसमा गइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्