Logo
Logo

लिपुलेकमा भारतले गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग



काठमाडौं । भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति नेकपा (एकीकृत समाजवादी)ले आपत्ति जनाएको छ । पार्टीका सम्मानित नेता तथा विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् ।

नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक भएको विज्ञाप्तिमा उल्लेख छ । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा छ, नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो ।’ विज्ञाप्तिमा भनिएको छ ।

एकीकृत समाजवादीले लिपुलेक क्षेत्रमा भइरहेको सडक विस्तारको कामलाई रोक्न माग गरेको छ । त्यस्तै नेपाल सरकारलाई पनि आफ्नो भूमि संरक्षणका लागि उपयुक्त कदम चाल्न आग्रह गरिएको छ ।

खनालले भनेका छन्, ‘हाम्रो भूमिको अखण्ता हनन गरेर भइरहेको सडक निर्माण र भारतीय नेताको भड्काउपूर्ण अभिव्यक्तिको हाम्रो पार्टी घोर भर्त्सना गर्दछ । सीमा क्षेत्रमा हाम्रो देशको भूमिको रक्षाका लागि आवश्यक पहल गर्न पनि नेपाल सरकारको ध्यानाकर्षण गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्