Logo
Logo

बूढीगण्डकी बाढीः ड्रोनबाट राहत वितरण


0
Shares

गोरखा । बूढीगण्डकी बाढीपीडितका लागि गृहमन्त्री सुधन गुरुङले ल्याएको राहत सामग्री वितरणमा ड्रोन प्रयोग गरिएको छ । बाढीले बाटो बगाएसँगै ड्रोनबाट पीडितको घरघरमा राहत पुर्‍याइएको हो ।

गृहमन्त्री गुरुङ शनिवार राहत सामग्री लिएर नेपाली सेनाको हेलिकप्टरमार्फत उत्तरी क्षेत्र पुगेका थिए । उनले ल्याएको राहत चुमनुव्री गाउँपालिकाको केन्द्र फिलिममा राखिएको छ । सोही ठाउँबाट ड्रोनले पीडितको घरघरमा पुर्‍याइरहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।

‘वडानम्बर ३ को पाङसिङ, पाति, नाग्चेत र सिर्दिवासका करिब सात सय घरधुरीलाई पुग्ने गरी गृहमन्त्रीले सोलार लिएर आउनुभएको रहेछ’, उनले भनिन्, ‘हेलीले पालिकाको केन्द्रमा झार्‍यो, यहाँबाट ड्रोनले बोकीरहेको छ ।’

सोलार ओसारपसारका लागि दुई वटा ड्रोन गृहमन्त्री आफैले ल्याएका थिए । ड्रोन उडानमा सशस्त्र प्रहरीको चार जना प्राविधिक खटिएका छन् । नजिकैको स्थानमा वितरण भएपनि टाढा पुर्‍याउन भने समस्या भएको पालिका उपाध्यक्ष गुरुङले बताइन् ।

बाढीले सिर्दिवास उहिया मिनी हाइड्रोमा क्षति पुर्‍याएपछि सो क्षेत्रमा विद्युत सेवा अवरुद्ध थियो । विद्युत समस्यालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङ सोलार लिएर आफ्नो क्षेत्र पुगेका हुन् ।

क्षति पुगेको हाइड्रो मर्मत भएसँगै आजबाट सो क्षेत्रमा विद्युत सेवा समेत सुचारु भइसकेको छ । समितिले हाइड्रोको मर्मत गरेर सेवा सुचारु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्