Logo
Logo

पार्टीका सभा सम्मेलन स्थगित गर्न अध्यक्ष नेपालको निर्देशन


17.8k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले बढी मानिस भेला हुने सभा तथा सम्मेलनहरु स्थगित गर्न निर्देशन दिएका छन् । सोमबार एक अपिलका प्रकाशित गर्दै नेता नेपालले आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रम गर्दा वैकल्पिक विधि अपनाउन समेत आग्रह गरेका छन् ।

‘संक्रमण दर बढ्न नदिन सरकराले जारी गरेको निर्देशनहरु कडाइका साथ पालन गर्नर गराउन पार्टीपंक्तिलाई निर्देशन गरिन्छ,’ अपिलमा भनिएको छ, ‘धेरै व्यक्ति उपस्थित हुने सभा तथा सम्मेलनहरु हाललाई स्थगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा गर्दा सकेसम्म वैकल्पिक अपनाउन समेत निर्देशन गरिन्छ ।’

त्यसैगरी स्वास्थ्य मापदण्ड पालन गरेर मात्रै पार्टीको कार्यक्रम सञ्चालन गर्न मातहतका कमिटीहरुलाई निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुने नेता तथा कार्यकर्ताहरुलाई कार्यक्रममा मास्क, स्यानिटाइजर प्रयोग गर्न र भौतिक दूरी कायम गरेर मात्रै कार्यक्रम चलाउन भनेका छन् । निर्देशनमा कार्यक्रममा सहभागीलाई थर्मलगन प्रयोग गरेर शरीरको तापक्रम जाँच्न पनि आग्रह गरेका छन् । त्यसैगरी सार्वजनिक स्थलमा भीडभाड नगर्न र कार्यक्रमहरुमा पनि तोकिएको व्यक्तिमात्रै सहभागी हुन समेत निर्देशन दिइएको छ ।

अध्यक्ष नेपालले कोरोनाविरुद्धको खोप नलगाएक व्यक्तिहरुलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेका छन् । नेपालले सोमबार प्रकाशित गरेको विज्ञप्तीमा खोप नलगाएकाहरुलाई आवश्यक सहयोग र उत्प्रेरित गर्ने काममा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

‘एक पटक पनि कोरोना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउनु हुन हार्दिक अनुरोध गर्दछु,’ अपिलमा भनिएको छ, ‘त्यसका लागि आवश्यक सहयोग गर्न र खोप लगाउन उत्प्रेरित गर्न सम्पूर्ण पार्टी पङ्ती परिचालन हुन निर्देशन गरिन्छ । ’

अध्यक्ष नेपालको अनुरोधपत्र

देशभर बढिरहेको कोरोना भाइरस संक्रमणप्रति हामी सबै समयमै सचेत हुनु जरुरी छ । पछिल्ला केही दिनयता कोरोनाको नयाँ भेरिएन्टका कारण संक्रमणदर उच्च गतिमा बढिरहेको छ । त्यसैले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सचेतहुन हार्दिक अनुरोध गर्दछु । साथै, हाम्रो पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरु योजना गर्दा एवं सहभागी हुँदा समेत निम्नानुसार गर्न/गराउनहुन हार्दिक अनुरोध सहित निर्देशित गर्दछु।

१. भाइरस सक्रमणहुन नदिन सरकारले तोकेका स्वास्थ्य मापदण्ड अपनाउँनहुन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछु । हाम्रो पार्टीका आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुँदा न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न जस्तै–थर्मलगनको प्रयोग गरी तापक्रम मापन गर्न, नाँक, मुख र चिउँडो छोपिने गरी माक्सको प्रयोग गर्न, सेनिटाइजरको प्रयोग गर्न र भौतिक दुरी कायम राख्न सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरिन्छ ।

२. सार्वजनीक स्थानमा अनावश्यक भिडभाड नगर्न तथा संक्रमण दर बढिरहेको कुरालाई दृष्टिगत गर्दै पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा तोकिएका कमरेडहरु मात्र सहभागीहुने व्यवस्था गर्न/गराउन निर्देशन गरिन्छ ।

३. संक्रमण दर बढ्न नदिन सरकारले जारी गरेका निर्देशनहरु कडाइका साथ पालना गर्न/गराउन सबै पार्टी पङ्क्तिलाई निर्देशित गरिन्छ । साथै, धेरै व्यक्तिहरुको उपस्थिति हुने सभा तथा सम्मेलनहरु हाललाई स्थिगित गर्न र आन्तरिक भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्दा सकेसम्म वैकल्पिक माध्यम अपनाउन समेत निर्देशन गरिन्छ ।

४. एक पटक पनि कोराना भाइरस विरुद्धको खोप नलगाएका १८ वर्ष माथिका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउनुहुन हार्दिक अनुरोध गर्दछु। साथै, त्यसका लागि आवश्यक सहयोग गर्न र खोप लगाउन उत्प्रेरित गर्न सम्पूर्ण पार्टी पङ्क्ति परिचालित हुन निर्देशन गरिन्छ ।


२०७८/०९/२६
माधवकुमार नेपाल
अध्यक्ष

प्रतिक्रिया दिनुहोस्