Logo
Logo

लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति राप्रपाको आपत्ति



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली भूमि लिपुलेकमा भारतले एकतर्फी सडक निर्माण गरिरहेको प्रति आपत्ति प्रकट गरेको छ ।

कालापानी लिपुलेक नेपाली भूमि भएको बताउँदै पार्टीले त्यहाँ भइरहेको अतिक्रमण र हस्तक्षेपविरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्ने माग पनि गरेको छ । शनिबार पार्टीका महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गर्दै कालापानी क्षेत्रमा भारतीय अतिक्रमणप्रति आपति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भूमि लिपुलेक कालापानी क्षेत्रमा भारतले एकतर्फी रूपमा सडक निर्माण गरिरहेको र केही दिन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो कुराको खुलासा गर्नुभएको विषय गम्भीर, आपत्तिजनक र नेपाली सार्वभौमिकताको विरुद्धमा छ । कालापानी लिपुलेक नेपाली भूमि हो, आफ्नो भूमि माथि भइरहेको अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाल सरकारले प्रतिवाद गर्नुपर्दछ ।’

साथै, भारतले सार्वजनिक रूपमा सडक निर्माण गरिरहेको अभिव्यक्ति दिइरहँदा नेपाल सरकार र सत्तारूढ गठबन्धनको मौनताप्रति दुःखद र रहस्यमय रहेको राप्रपाले जानएको छ ।

‘नेपाली भूमिमा भइरहेको हस्तक्षेपका बारे नेपाल सरकारले भारतसँग कूटनैतिक र राजनीतिक तहमा संवाद गरी अविलम्ब निर्माण कार्य रोक्न र आफ्नो भूमिको रक्षा हुने गरी समाधान निकाल्न नेपाल सरकार समक्ष राप्रपा जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्