काठमाडौं । बेग्लाबेग्लै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–१४ कलंकीमा बा.६ ख १४५९ नम्बरको बसले प्र.०२–०२८ प ७६१४ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौं मनमैजु बस्ने रुकुम बुढाउत्तर गाउँपालिका–१० घर भएका २१ वर्षीय संगित बुढामगरको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको कलंकीस्थित शहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस्तै झापाको बाह्रदशी गाउँपालिका–६ साधुकुटीस्थित सडकमा प्र.१–०१–०१४ प ९५३९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई बाटो छेउको घरमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका–६ बस्ने २० वर्षीय अभिषेक सुन्दासको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी झापा, मेचीनगर नगरपालिका–९ झोडास्थित सडकमा ज.५ प १७३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५४ वर्षीय करण बहादुर खड्काको शनिबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको बिएन्डसी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको आम्दा हस्पिटल धुलाबारीमा उपचार भईरहेको छ ।
कैलाली, गोदावरी नगरपालिका–१ धनगढीस्थित सडकमा सु.प.प्र.०१–००१०–प ५८१५ नम्बरको मटरसाइकल र से.५ प ७१९ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर शनिबार दिउँसो दुर्घटना हुँदा से.५ प ७१९ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने १८ वर्षीय गणेश बलायरको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएको उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनमा घाइते भएका सु.प.प्र.०१–००१०–प ५८१५ नम्बरको मटरसाइकल चालकको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, बारा, बारागढी गाउँपालिका–३ खोप्वास्थित सडकमा ना.५६ प ४९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–६ बस्ने २५ वर्षीय भोला चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












