Logo
Logo

आहा-रारा गोल्डकप : थ्रीस्टार क्लब आर्मीसँग पराजित


189
Shares

काठमाडौं । २०औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लब नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित भएको छ । पाँचपटकको च्याम्पियन थ्रीस्टार आर्मीसँग निरिह सावित भयो ।

सहारा क्लब पोखराको आयोजनामा यही माघ ६ गतेदेखि पोखरा रङ्गशालामा जारी प्रतियोगिताको आज सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा आर्मीले थ्रीस्टारमाथि १–० गोलको जीत हासिल गरेको हो । आहा राराको इतिहासमा हालसम्म उपाधि जित्न नसकेको आर्मीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा मनाङ मस्र्याङदी क्लबसँगको भेट पक्का गरेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा आर्मीका लागि खेलको ६४औँ मिनेटमा टङ्क बस्नेतको स्थानमा वैकिल्पक खेलाडीका रुपमा मैदान प्रवेश गरेका राजीव गुरुङले निर्णायक गोल गरेका थिए ।

खेलको ७०औँ मिनेटमा मैदानको मध्यभागमा थ्रीस्टारका रक्षापङ्क्तिका खेलाडी बल रोक्ने क्रममा चिप्लिएर लड्न पुगेपछि गुरुङले बल अगाडि बढाउँदै गोलकिपर अगाडि आएको मौकामा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको बलले सिधै जाली चुमेको थियो । त्यसपछि दुवै टोलीबाट कुनै गोल हुन सकेन ।

खेलपछि पत्रकार सम्मेलनमा आर्मीका प्रशिक्षक राजु तामाङले बलियो टोली थ्रीस्टारसँग जीत हासिल गर्न सकेकामा खुसी व्यक्त गरे । लिग खेल्ने टोलीका पाँच खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेकाले समेत टिम सेट हुन र फिनिसिङमा समस्या भएको उनले बताए । तामाङले मनाङसँगको सेमिफाइनलको खेलमा फिनिसिङमा सुधार ल्याउने योजना सुनाए ।

थ्रीस्टारका प्रशिक्षक उर्जन श्रेष्ठले राम्रो खेल्दा पनि रक्षापङ्क्तिका खेलाडी मैदानमा लड्न पुग्दा विपक्षी टोलीले गोल गर्न सकेको बताए । टोलीका केही खेलाडी घाइते भएकाले समेत आशातीत प्रदर्शन सम्भव नभएको उनको भनाइ थियो ।

प्रतियोगिताअन्तर्गत बुधबार शहीद स्मारक ‘ए’ डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच पहिलो सेमिफाइनल खेल हुने आयोजक सहारा क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्