Logo
Logo

अब भन्सार महसुल अनलाइनबाटै तिर्न सकिने


0
Shares

काठमाडौं । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बुधबार सुरुवात गरेका छन् । ७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उनले सो प्रणालीको सुभारम्भ गरेका हुन् ।

इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइन मार्फत् नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । योसँगै ‘नयाँ युग’को सुरुवात भएको पनि उनले बताए ।

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’

त्यस्तै उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने बताए । ‘हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उनले भने, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’

उनले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिवद्ध रहेको बताए । साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने पनि विश्वास दिलाए ।

प्रतिक्रिया दिनुहोस्