
कलैया । भारतीय नम्बरको स्कारपियो गाडीको ठक्करबाट कलैयामा दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ निवासी ४० बर्षीय नरेश साह र ५५ बर्षीय शितल साहको मृत्यु भएको हो ।
कलैया–वीरगञ्ज सडक खण्डको कलैया–५ सिसहनिया चौकमा राती भारतीय नम्बरको स्कारपियोले ठक्कर दिदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार नरेश र शितल घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो । नारायणी अस्पतालबाट थप उपचारका लागि उनीहरुलाई नेशनल मेडिकल कलेजमा लगिएको थियो ।
नेशनल मेडिकल कलेजमा उपचारको क्रममा राति साढे १० बजे चिकित्सकले दुवै जनालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । फरार स्कारपियो चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।











