काठमाडौं । दिन नेपालमा कोरोनाभाइरसविरुद्ध खोप अभियान सुरु भएको एक वर्ष पूरा भएको छ । भारतमा खोप अभियान सुरु भएको एक सातापछि नेपालमा कोभिशिल्ड खोप ल्याएर अभियान सुरुवात गरिएको थियो ।

नेपालमा खो अभियानको एक वर्ष पूरा हुँदा फेरि संक्रमण बढिरहेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । साथै, सार्वजनिक स्थानमा खोप कार्ड अनिवार्य गरिएको छ । तर, खोप सबै नेपालीले पाएका छ्रैनन् । त्यसैले सरकारले लागू गरेको खोप कार्ड अनिवार्यप्रति आलोचना समेत भइरहेको छ ।
भारतले अनुदानमा दिएको १० लाख डोज खोपबाट नेपालले अभियान सुरु गरेको हो । यस अवधिमा तीन करोडभन्दा बढी डोज खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । तर, कतिपयले पहिलो डोज खोपसमेत लगाउन पाएका छैनन् । नेपालमा खोप अभियान सुरु गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा प्रधानमन्त्री थिए ।
ओली सत्ताबाट आउट भएपछि गठबन्धनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रधानमन्त्री बने । प्रधानमन्त्री देउवाले पनि खोप अभियानलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै आएकाे छ । जस कारण खोप अहिले हरेक स्थानीय तहमा लगाउने अभियान जारी छ ।
एक वर्ष पूरा हुनै लाग्दा बुस्टर डोजसमेत लगाउन थालिएको छ । तर, बुस्टर डोज खोप सबैलाई होइन, अंग्रपंक्तिमा खटिनेलाई खोप लगाएर सुरुवात गरेको अभियानको एक वर्ष पूरा हुँदा १२ वर्षभन्दा माथि उमेर समूहकालाई लगाइएको छ ।
५ देखि ११ वर्ष उमेर समूहका नागरिकलाई दुई महिनाभित्रमा लगाउने गरी सरकारले फाइजर खोप ल्याउने तयारीलाई तीव्रता दिएको छ ।
नेपालमा बिहीबार अपरान्हसम्ममा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार एक करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, एक करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र दुई लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको छ ।
नेपालमा चार करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब एक करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जनाएको छ ।












