काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले विपदको प्रभाव बढ्दो रहेकाले त्यसको न्यूनीकरणका लागि सबै गम्भीर हुनुपर्ने बताएका छन् ।
गृह मन्त्रालयमा आज भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँडले विपदजन्य घटना न्यूनीकरण, त्यसबाट हुने क्षति कम गर्न तथा विपदपछिको उद्धार, राहत तथा पुनस्थापनका लागि तल्कालिन र दीर्घकालरूपमा कस्ताकस्ता कार्यक्रम लैजाने भन्ने विषय व्यवस्थापनको खाँचो रहेको औँल्याए ।
‘कुनै पनि भौतिक पूर्वाधार बनाउँद सुरक्षित छ की छैन, त्यो दीर्घकालिन छ की छैन भनेर हेर्नुपर्ने हुन्छ’, गृहमन्त्री खाँडले भने, ‘त्यसले जोखिम न्यूनीकरण गर्न सहयोग पुग्छ ।’
उनले छरिएर रहेको वस्तीलाई एकीकृत गर्न गाह्रो रहेको अनुभव पनि सुनाउँदै स्थानीयलाई रैथाने ठाउँ छाड्न पनि गाह्रो, लैजाने पनि गाह्रो रहेको बताए ।
विपदको व्यवस्थापन र सुरक्षाप्रबन्ध गराउनका लागि पनि एकीकृत वस्ती उपयुक्त हुने तर्क मन्त्री खाँडको छ । उनले विपद र वस्ती अन्योन्याश्रित सम्बन्ध रहेको पनि बताए ।












