काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्र लागेको भन्दै निर्वाचन गर्न बाध्य हुनेगरी आन्दोलनमा उत्रिन पार्टीका भ्रातृ संगठनहरुलाई निर्देशन दिएका छन् ।
अध्यक्ष ओलीले निर्वाचन नगर्ने विषय संवेदनशील भएकाले यसलाई सामान्यरुपमा लिन नहुने बताउँदै आन्दोलन गर्न निर्देशन दिएका हुन् ।

अध्यक्ष ओलीले शुक्रबार आफ्नै निवासमा पार्टीका केही नेता र जनसंगठनका प्रमुखहरुलाई बोलाएर स्थानीय तहको निर्वाचनका लागि दबाब सिर्जना गर्न आन्दोलनको तयारी गर्न निर्देशन दिएको एक नेताले बताए ।
अध्यक्ष ओलीले एमाले संगठन विभागका प्रमुख खगराज अधिकारी, जनसंगठन समन्वय संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, युवा नेताहरु गोकुल बास्कोटा, महेश बस्नेत, माधव ढुंगेललगायत जनवर्गीय संगठनका नेताहरुसँग आन्दोलनमा उत्रिन निर्देशन दिएका हुन् । अध्यक्ष ओलीको निर्देशनसँगै आज जनसंगठन समन्वय संयन्त्रको बैठक बस्दैछ ।











