काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत रियल म्याड्रिडले सेभियालाई ४-१ गोलले पराजित गरेको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो ।

रियलका लागि आर्दा गुलेरले ३०औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । किलियन एम्बाप्पेले ३७औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएपछि रियलले पहिलो हाफमा २-० ले अघि रहेको थियो।
दोस्रो हाफमा पनि रियलले आक्रामक खेललाई निरन्तरता दिएको थियो । एम्बाप्पेले ६३औँ मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि रियलले ३-० को अग्रता बनाएको थियो । सेभियाका मानु बुएनोले ८०औँ मिनेटमा गोल गर्दै अन्तर घटाएका थिए ।
तर, त्यसको दुई मिनेटपछि यान डियोमान्डेले गोल गरेपछि रियल मड्रिडले ४-१ को जित सुनिश्चित गरेको थियो । यस जितसँगै रियल मड्रिडले ला लिगामा महत्त्वपूर्ण तीन अङ्क जोडेको छ । रियलको ९ खेलमा २१ अङ्क भएको छ र लिगमा तेस्रो स्थानमा छ । त्यस्तै सेभियाको ९ खेलमा १४ अङ्क रहेको छ भने लिगमा छैटौँ स्थानमा रहेको छ । अब रियल म्याड्रिडले ला लिगाको एल क्लासिको अन्तर्गत आइतबार बार्सिलोनासँग प्रतिस्पर्धा गर्नेछ ।
















