Logo
Logo

यस्तो बन्यो घोडेपानी–घान्द्रुक पदमार्ग


- दृष्टि न्युज/संवाददाता


म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीयवासीले ढुंगाको सिँढी बिछ्याएर पदमार्ग बनाएका हुन् ।
पदमार्ग निर्माण भएपछि घोडेपानी–घान्द्रुक भ्रमणमा आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार र सिँढी निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष बिरेन पुनले जानकारी दिए । साँघुरो र भिरालो बाटोमा ३०० मिटर सिँढीसहितको पदमार्ग निर्माण भएको हो ।
यात्रा सुरक्षित भएको छ, यसअघि चिप्लो र भिरालो बाटोमा लडेर चोटपटक लाग्ने समस्या थियो । पदमार्ग निर्माणका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको थियो ।


भौगोलिक रूपमा विकट र बस्तीदेखि टाढाको जंगलमा पदमार्ग बनाइएको हो । पुनहिल भ्रमणका लागि आउने पर्यटकबाट संकलन गरिने प्रवेश शुल्कबाट पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरिएको वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।
घोडेपानी र पुनहिललाई सरकारले नेपालका १०० पर्यटकीय स्थलमा समेटेको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु श्रृङ्खलाका हिमालको अवलोकन गर्न सकिन्छ । म्याग्दीको प्रमुख पर्यटकीयस्थल घोडेपानी र पुनहिल क्षेत्र गुराँसको जङ्गल, वन्यजन्तु, वनस्पतिले पनि आकर्षण गर्दछ ।
शिशु उपचार कक्ष सञ्चालन
बेनी अस्पतालमा शिशु उपचार कक्ष सञ्चालन गरिएको छ । नवजात शिशुको उपचारका लागि अस्पताल व्यवस्थापन समितिले दुई श्यया क्षमताको छुट्टै कक्ष सञ्चालनमा ल्याएको समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । यो कक्षमा २८ दिनसम्मका शिशुलाई राखेर उपचार गर्न सकिने सुविधा छ ।
अक्सिजन, न्यानोका लागि हिटरलगायतका उपकरणको समेत व्यवस्था गरिएको छ । अरु बच्चासँगै राखेर उपचार गर्दा सङ्क्रमणको जोखिम हुने भएकाले छुट्टै कक्षको व्यवस्था गरिएको अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले बताउनुभयो । यसअघि यो सुविधाका लागि पोखरा जानुपर्ने अवस्था थियो । उहाँका अनुसार शिशु उपचार कक्ष स्थापनाका लागि करीब साढे रु तीन लाख खर्च भएको छ ।
यसैबीच बेनी अस्पतालमा जनावरले टोकेका बिरामीलाई लगाउने एन्टिरेविज भ्याक्सिनको सेवा पनि थप गरिएको छ । यसअघि कुकुर र अन्य जनावरले टोकेर घाइते भएका बिरामीलाई एन्टिरेविजको भ्याक्सिन लगाउन पोखरा पठाउने गरिएको थियो । (रासस)

प्रतिक्रिया दिनुहोस्