काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका निवर्तमान अध्यक्ष कमल थापाले ८० जना केन्द्रीय सदस्यले साथ दिने दाबी गरेका छन् ।
महाधिवेशनबाट निर्वाचित तीन उपाध्यक्ष, एक महामन्त्री र ८० केन्द्रीय सदस्यलाई साथमा लिएर नयाँ पार्टी दर्ता गर्ने तयारीका साथ थापाले मंगलबार पार्टी परित्याग गरेको घोषणा गरे ।
उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्री कुन्ती शाही र भुवन पाठकसहित थापा पक्षबाट ८० भन्दा बढी केन्द्रीय सदस्यले साथ दिने थापा निकट स्रोतले बताएको छ ।
हालसम्मको जानकारी अनुसार केन्द्रीय सदस्यहरू जयन्त चन्द, राजीव पराजुली, तोरण गुरुङ, राम थापा, दीपकबहादुर सिंह, सुशील श्रेष्ठ, राजाराम बर्तौला, तेज कुरवान, विक्रमबहादुर थापा, जयकुमार खड्का, इन्द्र चित्रकार, वसन्तमानसिंह अधिकारी, गणेश चन्दलगायत नेताहरू थापा समूहमा रहने भएको बताइएको छ । स्रोतका अनुसार केही जिल्ला अध्यक्षहरू पनि थापाका पक्षमा खुल्ने बुझिएको छ ।














