काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले तीन दिनसम्म युक्रेनसँग महत्त्वपूर्ण गुप्तचर सूचना आदानप्रदान अस्थायी रूपमा रोकेको खुलासा गरेका छन् । उक्त अवधिमा युक्रेनी सेनाले रुसी ब्यालिस्टिक मिसाइल आक्रमणसम्बन्धी अमेरिकी पूर्वसूचना प्राप्त गर्न नसकेको उनले बताए ।

अमेरिकी टेलिभिजन एनबीसीको ‘मिट द प्रेस’ कार्यक्रममा दिएको अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनी सेनाले प्रयोग गर्दै आएको उपग्रह सञ्चार सेवामा लगाइएका प्रतिबन्ध पूर्ण रूपमा नहटाइएको बताए ।
जेलेन्स्कीका अनुसार, गुप्तचर सूचना आदानप्रदानमा आएको अवरोधका कारण विशेष गरी अमेरिकाले मात्र उपलब्ध गराउन सक्ने रुसी ब्यालिस्टिक मिसाइल आक्रमणसम्बन्धी पूर्वचेतावनी प्रभावित भएको थियो ।
युक्रेनले युरोपेली सरकार तथा अरू अन्तर्राष्ट्रिय साझेदारबाट निरन्तर गुप्तचर सूचना प्राप्त गरिरहेको भए पनि तिनले अमेरिकी प्रणालीको पूर्ण विकल्प प्रदान गर्न नसक्ने जेलेन्स्कीले स्पष्ट पारे ।
गुप्तचर सूचना आदानप्रदानको व्यवस्था अहिले पुनः सञ्चालनमा आइसकेको उनले उल्लेख गरे । उनले भने, “यो केही समयका निम्ति रोकिएको थियो । त्यसपछि अमेरिकी पक्षले यसलाई पुनः सुरु गर्यो । यसनिम्ति हामी आभारी छौँ । अहिले यो व्यवस्थाले काम गरिरहेको छ ।”
रुससँगको युद्धका विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो नीति र अडानका कारण वासिङ्टन र किभबीच तनाव बढिरहेका बेला जेलेन्स्कीको यो भनाइ सार्वजनिक भएको हो ।
जेलेन्स्कीले इलोन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित भूउपग्रहमा आधारित इन्टरनेट सेवा स्टारलिंक र त्यससँग सम्बन्धित सैन्य सेवामाथि लगाइएका प्रतिबन्धप्रति पनि चिन्ता व्यक्त गरे ।
यो अवरोध जानाजानी सिर्जना गरिएको हो कि ? भन्ने प्रश्नमा जेलेन्स्कीले प्रतिबन्ध अमेरिकी सरकारकै तर्फबाट लगाइएको जिकिर गरे । उपग्रह सञ्चार सेवा पूर्ण रूपमा पुनर्स्थापित भएको छ कि छैन ? भन्ने प्रश्नमा उनले बिल्कुलै नभएको बताए ।
यद्यपि, सोही कार्यक्रममा छुट्टै सहभागी भएका अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले युक्रेनी राष्ट्रपतिको दाबीलाई अस्वीकार गरे ।
सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता अमेरिकी गुप्तचर सूचना, हतियार आपूर्ति र स्टारलिंकजस्ता भूउपग्रह सञ्चार सेवाले युक्रेनको सैन्य प्रतिकारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
















