Logo
Logo

निगममा ओशाका काण्डको रहस्य


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । दुईवटा एयरबसको वाइडबडी, दुईवटा न्यारोबडी, एउटा बोइङ ७५७, दुईवटा चाइनिज एमए ७०, चारवटा वाई १२ र ३ वटा ट्वीनअटर जहाज भएर पनि नेपाल वायुसेवा निगमको आर्थिक अवस्था दरिद्रतातर्फ लम्कँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा निगमको कार्यकारी अध्यक्ष नियुक्त भएका मदन खरेलको आठ महिने कार्यकालमा वाइडबडी र न्यारोबडी खरिद गर्दा लिएको ऋण, सञ्चयकोष र नागरिक लगानी कोषको सावाँ, ब्याजसमेत तिर्न सकेका छैनन् ।

कार्यकारी अध्यक्ष खरेल आएदेखि वाइडबडी जहाजको घाटा तीन अर्ब १२ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने न्यारोबडीको घाटा ५७ करोड देखिन्छ । त्यसैगरी बोइङ ७५७ को घाटा ११ करोड, चाइनिज एमए ६० को घाटा १४ करोड, वाइ १२ को घाटा १२ करोड ७५ लाख र ट्वीनअटरको घाटा ६ करोड १४ लाख पु¥याइएको छ । खरेल कार्यकारी अध्यक्षमा नियुक्त भएर आएदेखिको निगमको अवस्था हो यो । माथिको तथ्यांकले खरेलको व्यवस्थापकीय क्षमता कमजोर झल्काउँछ । प्रधानमन्त्री ओलीले निकै विश्वास गरेर ल्याएका खरेलले आफ्नो आठ महिने कार्यकालमा निगमलाई घाटैघाटा देखाएर सरकारसँग २० अर्ब ऋण मागेका छन् । सरकारले उक्त ऋण दिन नसकेको खण्डमा खरेल पुनः राजीनामा दिएर भाग्ने मुडमा छन् ।

निगम स्रोतका अनुसार निगमको मासिक करिब एक अर्ब आम्दानी भए पनि तलब, इन्धन, क्याटरिङ र जहाजको मर्मतसम्हारमै खर्च भइरहेको छ । निगमसँग अहिले २१ वटा बैंकमा ६० करोड, ६ लाख १४४८ मौज्दात छ । तर, पनि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषको ऋण तिर्नेबारेमा खरेलले नियोजित रुपमा कन्जुस्याइँ गरिरहेका छन् । तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकरलाई दोष दिएर निगम डुबाउन उनले यस्तो खेल खेलेका हुन् । निगम सुधारको कुनै सोच खरेलमा देखिएन । बरु हवाई माफियाहरुसँग मिलेर उनले निगम डुबाउन खोजिरहेको एउटा तथ्य जापानको ओशाका उड्यान हो । जुन अचानक रद्द गरिएको छ । जुलाई ४ तारेखदेखि जापानको उड्यान गर्ने भनेर निर्णय गरिएको भए पनि निगमका जापान प्रतिनिधि देवमान हिराचनलाई हटाउन उक्त उड्यान रद्द गरिएको निगम स्रोतले बताएको छ ।

हिराचनले ओशाकामा निगमका लागि सम्पर्क कार्यालय खोलेर कर्मचारी समेत भर्ना गरिसकेका छन् । तर, प्रधानमन्त्रीका सल्लाहकार डा. राजन भट्टराईको ठाडो आदेशमा ओशाकाको जीएसए खर्पु शेर्पालाई दिने भित्री तयारी भइरहेको छ । त्यसका लागि असार २ गते मदन खरेलसहितको तीन सदस्यीय टोली जापान प्रस्थान गर्दैछन् । त्यसका लागि ४० लाख रकम बैंकबाट झिकिएको छ । उक्त टोलीमा खरेल, टंकनिधि दाहाल र विजय लामा छन् ।

जापानमा ओशाकाको जीएसए शेर्पालाई दिने तयारी भएको छ । यसमा जापानस्थित नेपाली राजदूत प्रतिभा राणाको चासो पनि जोडिएको छ । राणाले आफ्नो भाइ पर्ने प्रदीपशम्शेर राणालाई समेत टोकियो बोलाएकी छन् । प्रदीपशम्शेर राणा त्यही व्यक्ति हुन्, जसले निगमको ३० प्रतिशत शेयर जर्मनीको लुफ्थान्सा एयरलाइन्सलाई दिलाउन वर्षौदेखि शक्तिकेन्द्रमा दबाब दिँदै आएका छन् । राणाकै योजना सफल पार्न खरेलले निगम डुबाउने खेल खेलेका हुन् । खरेलले सरकारसँग मागेको २० अर्ब रुपैयाँ सरकारले दिएन भने निगमले आफ्नो अस्तित्व जोगाउन शेयर बेच्नुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्