Logo
Logo

नेपालमा अधिकांश क्षेत्रहरुमा लगानीको अपार सम्भावना : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताएका छन् ।

आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रहरुमा लगानी सम्भावना रहेको भन्दै लगानी विस्तारका लागि विश्वभरका लगानीकर्ताहरुलाई आग्रह गरे । विश्वका उदाउँदा ठूला अर्थतन्त्र, चीन र भारतको बिचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने उनको भनाइ छ ।

अध्यक्ष ढकालले नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रहरुमा लगानीको सम्भावना रहेको बताए ।
नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालीन विद्युत् व्यापार सम्झौताको स्मरण गर्दै उनले यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहुँच पु¥याउने उनले बताए । अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको उल्लेख उनले गरे ।

अध्यक्ष ढकालले नेपालको साँस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए ।

उनले भने, ‘अर्को महत्वपूर्ण र सम्भावना भएको क्षेत्र दक्ष जनशक्तिको उत्पादन हो । यसका लागि नेपालमा उच्चस्तरको प्राविधिक स्कूल स्थापना गर्नुपर्ने हुन्छ जसले नेपालमा रहेको दक्ष श्रमशक्तिको अभावलाई मात्र समाधान गर्ने छैन । मुलुकबाट वैदेशिक रोजगारका लागि जाने ठूलो जनशक्तिलाई दक्ष बनाई उनीहरुको क्षमता अभिवृद्धि गर्दै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको रकम पनि बढाउन सहयोग पुग्नेछ ।’

हालै नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानूनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै उनल महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको समेत बताए ।
महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रीपरिषद्बाट पारित समेत भइसकेको बताउँदै भने, ‘यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्नेछ ।’

मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र युएईको दुवईमा विजनेस समिटको आयोजना गरेको बताए ।

महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै उनले नेपाली लगानीकर्ताहरु विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्