Logo
Logo

एमाले पत्तासाफको सुरुवात स्थानीय तहबाटै हुन्छ


प्रेमबहादुर आले, पर्यटनमन्त्री


वर्तमान सरकारमा सबैभन्दा चर्चित मन्त्रीको छवी बनाउनुभएको छ । जनताले स्याबासी पनि दिइरहेका छन् । अब के–के गर्ने योजना छ ?
म जनताको सेवक हु“ । मैले नियमित काम गरेको हु“ । मैले सम्हालेको मन्त्रालयलाई नेपाली जनताले नोटिस गरिरहेका छन् । धेरै नीतिगत काम गर्न बाँकी नै छ । अहिले त सुरुवात मात्रै भएको छ । खास काम गर्न बाँकी नै छ । देश र जनताको हितमा दिनरात नभनी खटिएको छ, खटिने छु । मुलतः संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभित्रका बेथिति रोक्ने, त्यसमा सुधार ल्याउने र नीतिगत निर्णयहरुको माध्यमबाट देशलाई अगाडि बढाउनु नै मेरो प्रमुख जिम्मेवारी हो ।

मन्त्रालयमा सुधार गर्नुपर्ने र दीर्घकालीन असर गर्ने खालका काम के–के हुन् ?
मैले पर्यटन मन्त्रालय सम्हालेको चार महिना पुग्यो । म सुरुवाती चरणमा छु । बुझ्दै छु । सिक्दै छु । र, सुधारका कामको थालनी गरेको छु । नेपालको हवाई तथा पर्यटन क्षेत्रमा केही दीर्घकालिन प्रभाव पार्ने काम गर्ने अभिलाषा छ । नागरिक उड्डयन प्राधिकरणको संस्थागत सुधार, भैरहवा र पोखरामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल संचालन, नेपालमा हाल संचालित एकतर्फी हवाई रुटलाई दुईतर्फी बनाउने र कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई उकास्न पर्यटन उत्थान कमिटी बनाएको छु । यो कमिटीले युद्धस्तरमा काम गर्न थालेको छ । जसले गर्दा पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आउने छ । नीतिगत काम भन्नाले बेथिति हटाउने नै हो । त्यसमा म निरन्तर लागिरहेको छु ।

मन्त्रालयमा कमिसन, घुसका कुरा पनि धेरै आउछ भन्छन । तपाईलाई त्यस्ता प्रस्ताव कति आए ?
कमिसन, घुस विकासउन्मुख राष्ट्रहरूको समस्या हो । कतिपय बिचौलिया गिरोहले सरकारलाई प्रभावमा पारेर स्वार्थ पूरा गरेका हुन्छन् । घुमाउरो बाटो हँुदै प्रलोभनमा पार्न खोज्नेहरूको कमी छैन । हाम्रो समाजमा नियत राम्रा र नराम्रा भएका मान्छेहरु भेटिन्छन । म कडा स्वभावको छु । मलाई लोभ लालच केहि पनि छैन । मेरो झर्रो र हाकाहाकी स्वभावले होला यस्ता प्रस्ताव म कहाँ आइपुग्दैनन् । आँट गर्दैनन् ।

बतास समूहसँग के को रिस थियो र मन्त्री आले पछि लागे भन्ने ?
मैले बतास समूहका लगानीकर्तालाई अहिलेसम्म देखभेट गरेको छैन । आजका मितिसम्म मेरो चिनजान पनि छैन । सरकारको नियमित काम कारबाहीमा कोही न कोही जोडिएर आउछन नै । यस्ता समूह वा व्यक्ति चार महिनामा थुप्रै सुनिए, देखिए । यी सबै कामको सिलसिलाले जोडिएको, देखिएको मात्र हो । व्यक्ति गौण कुरा हो, प्रवृत्ति ठूलो कुरा हो । गलत प्रवृत्तिविरुद्ध निरन्तर प्रहार गर्छु, त्यो मेरो प्रतिबद्धता हो । पेशा, व्यवसाय गर्नेले पनि के गर्नुपर्छ, के गर्नुहुन्न भन्ने सोच्नुपर्छ । ‘पावर’छ भन्दैमा पावरको ‘मिसयुज’ गर्नुहुन्न । हामीले राष्ट्र र देशप्रति कर्तव्यनिष्ट भई काम गर्नुपर्छ । मैले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको छु । मैले गरेका कामको सबैले प्रशंसा गरेका छन् ।

कौडीको मूल्यमा ठेक्का दिनेलाई केही नगर्ने, अनि बतासलाई मात्रै दोष दिने कुरा त न्यायसंगत भएन नि ?
पर्यटन मन्त्रालयले गरेको छानबिन प्रतिवेदन हामीले प्रेस विज्ञप्तमार्फत सार्वजनिक गरेका छौँ । थप अनुसन्धान गर्ने निकाय प्रहरी, अख्तियार हुन् । हामीले विस्तृत अनुसन्धानका लागि अख्तियारलाई पत्राचार गरेका छौँ । हाम्रो निकायले गरेको अध्ययन पूरा नहुन पनि सक्छ । जे जति हाम्रा प्रयास छन्, ती सबै विनापूर्वाग्रह देश र राष्ट्रका लागि हुन् ।

नारायणहिटीमा क्याफे आवश्यक भएरै सरकारले टेण्डर निकालेको होला नि ?
कुनै पनि सरकारी निकायभित्र कर्मचारीका लागि चमेनागृह आवश्यकता हो । यही सिंहदरबारभित्र धेरै क्यान्टिन छ । तर, व्यापारीलाई लाभ हुने उद्देश्यका लागि कुनै पनि पुरातात्विक महत्वका क्षेत्रमा क्यान्टिनका नाममा सञ्चालन हुने क्याफे आवश्यक होइनन् । त्यसमाथि नारायणहिटी दरबार अगाडि दरबारमार्ग क्षेत्रमा सयौं रेष्टुरेन्ट, क्याफे, होटल छन् । नारायणहिटी दरबार संग्रहालय १ घण्टामा घुमेर सकिन्छ । ४–५ घन्टाको अवलोकन लाग्ने र शहरबाट धेरै टाढा भए त्यस्तो ठाउँमा क्याफेबारे बहस गर्न सकिन्थ्यो । तर, एक डेढ घन्टामै अवलोकन सकिएलगतै गेट बाहिर प्रशस्तै क्याफे हुँदाहुँदै नारायणहिटीभित्रै किन क्याफे चाहियो ? मैले नबुझेको कुरा ।

नारायणहिटी र पशुपतिको विषय धेरै चर्चामा आयो । धार्मिक तथा सांस्कृतिक महत्वका स्थलको संरक्षणका लागि, अतिक्रमण वा कौडीको भाउमा लिएर प्रयोग भइरहेका अन्य स्थानको बारेमा के सोचिरहनु भएको छ ?
एकै रातमा धेरै ठुलो क्रान्तिकारी परिवर्तन र सुधार गर्न के सम्भव छ र ? वर्षौँदेखि राज्यका धेरै सम्पतिमाथि भएको लुटपाटलाई एक–एक गर्दै सुधार गर्दै जाने हो । थुपै्र सरकारी सम्पत्तिको सुरक्षा गर्नु हाम्रो प्राथमिकतामा छ, यो सरकारको दायित्व पनि हो । सरकारी सम्पत्ति कौडीको मूल्यमा हडप्ने र आफ्नो व्यवसाय चलाउने धन्दा पछिल्लो पटक धेरै फस्टायो । सरकारी, ट्रष्ट र सार्वजनिक जग्गाको संरक्षण गर्नु सरकारको दायित्व हो । तिनको दुरुपयोग रोक्नु सरकारको कर्तव्य हो । मैले त्यही कर्तव्य निर्वाह गरेको हुँ, गर्दै जानेछु ।

विगतमा मन्त्रीसमेतको सेटिङमा अनियमितता भए कि कर्मचारीले बदमासी गरे ?
विभागीय मन्त्रीको निर्देशन वा संकेत विना कर्मचारीतन्त्रले मात्र यो तहको बदमासी गर्ने आँट गर्छ जस्तो मलाई लाग्दैन । यो सबै सेटिङमा भएका काम हुन् । त्यसैले सेटिङ भत्काउनै पर्छ ।

भनेपछि ‘काले–काले मिलेर खाउ भाले’ भनेजस्तै रहेछ ?
सप्पै त त्यही हो जस्तो लाग्दैन । म भन्दा अघिका पर्यटन मन्त्रीहरूले राम्रा काम पनि गर्नु भएको छ होला । राजा कसैलाई मन पर्न सक्छ, कसैलाई नपर्न सक्छ । तर, नारायणहिटी हामी सबै नेपालीको साझा सम्पत्ति हो र इतिहास पनि हो । त्यसमा कानुनको धज्जी उडाउँदै व्यवसाय गर्न दिइएको विषय जनताले मनै पराएनन् । यो कुरा सत्य हो । त्यसैले जुनसुकै मन्त्रीको पालोमा भए पनि नारायणहिटीभित्र क्याफे खोल्ने निर्णय गरियो, त्यो ठिक थिएन । त्यसको संरक्षणको लागि मैले त्यो कदम उठाए । अब कुन मन्त्रीले गल्ती गर्याे, त्यो त अख्तियारले अनुसन्धान गर्ला नि ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई र तपाईबीच आरोप प्रत्यारोप नै चल्यो नि ?
हाम्रो संविधानले सबैभन्दा शक्तिशाली जनतालाई मानेको छ र जनता नै सर्वशक्तिमान हुन । नेता देशका सेवक हुन । हामीले मुलुकको समृद्धि हुने काम गर्न अवरोध गर्नेलाई छोड्नु हुँदैन । आजको युगमा सामाजिक सञ्जाल बलियो भएको अवस्थामा हामी चुक्यौं भने जनताले त्यहाँ कारबाही गर्छन । राम्रो काम गर्दा जनताले स्याबासी पनि दिन्छन् । मलाई योगेश भट्टराईसँग आरोप–प्रत्यारोप गर्नु छैन । जसले जस्तो काम गर्छ, त्यस्तै परिणाम भोग्नुपर्छ ।

दोषीलाई कारबाहीको दायरामा ल्याउन सक्नुहुन्छ ?
अबको समय पहिले जस्तो छैन । गलत काम गर्नेलाई आम जनताले बहिस्कार गर्ने, चुनावमा हराउने, सामाजिक सञ्जाल र सार्वजनिक थलोमा आलोचना गर्ने पनि एक प्रकारको कारबाही नै हो । त्यसैले एक ठाउबाट उन्मुक्ति लिँदैमा वा उम्किदैमा कारबाहीबाट छुटिहाल्ने भन्ने होइन । हामी सबै मिलेर गल्ती गर्ने कसैलाई पनि सजायको भागिदारबाट उन्मुक्ति दिनु हुँदैन । यो कानुनी राज्य हो, गल्ती गर्नेले एक दिन सजाय भोग्नै पर्छ ।

नेपाल वायुसेवा निगम दिनप्रतिदिन धरासायी बन्दै गइरहेको छ । कार्यकारी अध्यक्षको क्षमतामाथि प्रश्न उठिरहेको छ । मन्त्री नै बदनाम गराउने काममा कार्यकारी अध्यक्ष लागेको सुनिन्छ । तपाईंको ध्यान त्यता गएको छ कि छैन ?
म हरेक दिन नेपाल वायुसेवा निगमसहित मन्त्रालय मातहतका निकायका प्रमुखबाट ब्रिफिङ लिइरहन्छु । निगम चारवटा जेट विमानको ऋणमा छ । चिनियाँ जहाज त्यत्तिकै थन्किएका छन् । दुई वर्षयता कोरोना संक्रमणका कारण पूर्णरुपमा निगमका जहाज उडान हुन सकिरहेको छैन । यसबाहेक बदलिदो समय अनुसार निगमको व्यवस्थापकीय सुधार आवश्यक छ । निगमका कार्यकारी अध्यक्षको कार्यक्षमता मैले अध्ययन गरिरहेको छु । निगमकै पुरानो, अनुभवी कर्मचारीलाई कार्यकारीको जिम्मा दिँदा आन्तरिक व्यवस्थापन सुधार हुन्छ भन्ने विश्वास हो । त्यसैले युवराज अधिकारीको काम हेर्दै छु । उनले आफ्नो कार्यक्षमता देखाए भने उनी पुरस्कृत हुने हो, नभए दण्डित हुन्छन् । यहाँ गुनासो गरेर समय बर्बाद गर्ने फुर्सद कसैलाई छैन । काम गरेर सबैको मन जित्नुपर्छ । जहाँसम्म, कार्यकारी अध्यक्षले मेरो बदनाम गर्यो भन्ने प्रश्न छ, त्यो मेरो कानसम्म आइपुगेको छैन । यदि तपाईंले भनेजस्तो कुरा सत्यमा परिणत भयो भने बाँकी राख्ने छैन । उनलाई चेतावनी दिइसकेको छु ।

नेपाल वायुसेवा निगमलाई अब्बल कसरी बनाउने ? के छन् तपाईंका योजना ?
निगमसँग भएका जहाजलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अधिकतम समय उडाउनुपर्छ । नयाँ गन्तव्य थप्नै पर्छ । त्यसमा भएका समस्या समाधान गर्दै जानुपर्छ । अन्य निजी क्षेत्रका विमानसँग प्रतिस्पर्धा गर्नुपर्छ । त्यसका लागि ‘रोडम्याप’ बनाउनुपर्छ । मैले नै यसो गर भनेर हस्तक्षेप गर्नुभन्दा व्यवस्थापनले यसो गर्छु भन्नुपर्छ । सबै कुरा मन्त्रीले अह्राएर गर्नुपरे व्यवस्थापन किन चाहियो ? अर्को कुरा, आन्तरिक उडानका लागि विमान थप्नुपर्छ । त्यसका लागि अर्थ मन्त्रालयसँग बजेट मागेका छौं । नयाँ विमान थप्नासाथ यात्रुले सस्तो मूल्यमा जहाजबाट आन्तरिक यात्रा गर्न सक्नेछन् । जनताको सेवा, सुविधाकै लागि निगम स्थापना भएको हो । त्यसैले निगमका कार्यकारीसँग ठोस योजना मागेको छु ।

त्रिभुवन अन्तर्राष्ट्रियसहितका विमानस्थलमा सुधारको योजना अगाडि बढाउनुभएको छ । अब यात्रुहरुले सास्ती पाउँदैनन् ?
अहिले यात्रुको चाप पूर्णरुपमा वृद्धि भइसकेको छैन । आन्तरिक टर्मिनलमा ट्याक्सीबाट ठगिने क्रम न्यून भएको छ । यात्रु ठग्ने ट्याक्सीको सिन्डिकेटमा ब्रेक लगाइएको छ । यात्रुलाई थप सुविधा दिन टर्मिनलभित्र यात्रु प्रतिक्षालय निर्माण, सुधार र प्रविधीमैत्री बनाउदै गएका छौँ । आगामी दिनमा थप सुधार हुनेछ । टर्मिनलभित्र अहिलेको व्यागेज बेल्टभन्दा तीन गुणा बढी क्षमताको ब्यागेज बेल्ट थप गर्दैछौँ । त्यसका लािग ग्राउण्ड ह्याण्डलिङमा व्यापक सुधार गर्ने योजना बनाएका छौं । आधुनिक उपहरणहरु खरिद गर्दैछौं ।

विदेशमा काम गर्न जानेलाई निःशुल्क कोरोना परीक्षणको व्यवस्था मिलाउन सकिदैन ?
कोरोना परिक्षण शुल्कको सन्दर्भमा मेरो तर्फबाट गर्न सकिनेजति गरेँ । २ हजार २२ सय पर्ने पीसीआर जाँच शुल्कलाई १२ सयमा झारेँ । वैदेशिक रोजगारीमा जानेहरूका लागि निःशुल्क गराउने कार्य स्वास्थ्य तथा जनसंख्या र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग पनि जोडिन्छ । कुराकानी हुँदैछ । निःशुल्क गर्न सकियो भने राम्रो ।

जनताले स्याबासी दिएको मौका छोपेर नयाँ क्यासिनोलाई लाइसेन्स दिनुुभयो भन्ने आरोप छ नि ?
क्यासिनो विदेशी पर्यटकका लागि हो । मेरो मन्त्रालयको काम नै क्यासिनोलाई अनुमति दिने हो । प्रक्रिया र मापदण्ड पूरा गरेर रोकिएका फाइललाई सदर गरेको हु“ । यो काम कानुनले पर्यटन मन्त्रालयलाई दिएको छ । फाइल पर्यटन विभाग हुँदै उठ्छ । मन्त्रालयको पर्यटन महाशाखाले मापदण्डको जाँच गर्छ । मैले अनुमति पत्र दिने मात्र होइन, क्यासिनोले राज्यलाई तिर्नुपर्ने राजश्व उठाउन थप कडा निर्णय लिएको छु ।

अब, केही पार्टीको कुरा गरौं । स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ । प्रदेश र केन्द्रको निर्वाचन पनि आगामी वर्ष हुँदै छ । चुनावपछि नेकपा (एकीकृत समाजवादी)को हैसियत के हुन्छ ?
नेकपा (एकीकृत समाजवादी)ले आफनो संगठन निर्माण देशभर तीव्रताका साथ गरिरहेको छ । सरकारमा समाजवादीबाट पठाएको मन्त्रीको कामको मुल्याङन पनि नेपाली जनताले गरिरहेकै छन् । त्यसैले पार्टी निर्माणमा जनताको अपार साथ समर्थन पाएका छौँ । अरु पार्टीबाट पनि देशभरबाट हाम्रो पार्टीमा प्रवेशको लहर चलेको छ ।
एमालेका असन्तुष्ट कमरेडहरुले पनि धमाधम समाजवादी पार्टी प्रवेश गरेका छन् । देशैभरि एमाले छाड्नेको संख्या बढ्दो छ । स्थानीय निकायको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचनसम्म यो गठबन्धन कायम गर्छौँ भनेर पार्टीका नेताहरुले प्रतिबद्धता जनाएका छन् । मुलतः यो संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन पनि अहिलेको गठबन्धन आवश्यक छ । पुस ५ गते दुईतिहाइको संसद् विघटन गरेर प्रतिगामी कित्तामा उभिएको एमालेभित्र रुवावासी छ । राष्ट्रियसभाको निर्वाचनको परिणामले एमालेलाई सडकमा खोज्नुपर्ने दिन नजिकै छ । त्यही भएर एमालेका अध्यक्ष केपी शर्मा ओली जे मन लाग्यो, त्यही बर्बाराइरहेका छन् । त्यो बर्बराहट समाप्तिको संकेत हो । हेर्दै जानुस्, एमाले पत्तासाफको सुरुवात स्थानीय तहबाटै हुन्छ । त्यसका कतिपय कार्यकर्ता बेरुजु फस्र्यौटमा फसेकाले त्यस्ता सयौं कार्यकर्ता त उम्मेदवार पनि हुन पाउँदैनन् ।

यदि, कांग्रेससँग चुनावी गठबन्धन भएन भने नि ?
यो गठबन्धन चुनाव जित्नका लागि भएको होइन । मैले माथि नै भनिसके । संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधिनताको रक्षा निम्ति यो गठबन्धन निर्माण भएको हो । त्यसको जगमा हाम्रो पार्टी निर्माण भएको हो । हामी राष्ट्रिय शक्तिको रुपमा स्थपित छौँ । यी मुलभूत कुरामा सहमत हुने जुनसुकै दलसँग हाम्रो सहकार्यको ढोका खुला छ ।
त्यसैले अहिले नै अनुमानको भरमा गठबन्धन टुट्छ भन्नु अलि परिवक्व हुँदैन । तपाईंले अनुमान गरेजस्तो अवस्था आयो भने एमाले बाहेकका वाम गठबन्धन गरेर पनि जान सक्छौं । ‘एक वाम एक ठाम’को नारा त धेरै पहिलादेखि लागेको हो । ०७४ सालको दुईतिहाइ पनि वाम एकताबाट नै सम्भव भएको हो । तर…लाई घ्यू पच्दैन भनेझैं ओलीले सिंगो कम्युनिष्ट आन्दोलन ध्वस्त पार्न खोजे, जनतालाई धोका दिए ।

एमसीसीका कारण कांग्रेस–एमाले गठबन्धन बन्ने सम्भावना देख्नुहुन्छ कि हुन्न ?
एमसीसी अब देशको बहसको बिषय बनिसकेको छ । एमसीसी सम्झौताका विषयमा हाम्रो दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ । एमसीसी सम्झौता अनुमोदन गर्नु नै हुदैन भन्ने हाम्रो मत छैन । यस सम्झौतालाई राष्ट्रका हितमा हुने गरी संशोधनसहित अनुमोदन गर्नुपर्छ भन्नेमा हामी छौँ । एमसीसीको सन्र्दभमा गठबन्धन दलभित्र अहिले पनि छलफल तीव्र रुपमा भइरहेको छ । हिजो हुबहू अनुमोदन गर्नुपर्छ भनेर संसदमा एमसीसी पुर्याएका एमाले अध्यक्ष केपी ओलीले आज आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न सकिरहेका छैनन् । गठबन्धन भत्काउन एमसीसीलाई प्रयोग गर्ने दाउ खेलिरहेका छन् । तर, त्यो झर्ला र खाम्लाको कुरा मात्रै हो ।

प्रतिक्रिया दिनुहोस्