
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि एमसीसी अनुमोदन गर्ने तयारीमा जुटेपछि सत्तारुढ नेकपा माओवादी केन्द्र सरकारबाट बर्हिगमनको अन्तिम विन्दुमा पुगेको छ ।
एमसीसी संसदमा जबरजस्ती पेस भए सरकार छोड्ने निर्णय गरिसकेको माओवादीले संसदमा एमसीसी पेस भए पनि सरकार छोड्न सकेको छैन । अहिलेकै अवस्थामा सरकारबाट बाहिरिए प्रतिगमन विरुद्धको संघर्षबाट स्थापित सत्ता गठबन्धन टुट्ने बुझाइका साथ माओवादीले सरकार नछोडेको हो ।
संसदमा एमसीसीबारे छलफल प्रारम्भकै क्रममा शुक्रबार माओवादीका शीर्ष नेताको बैठक बसेको थियो । बैठकले सत्तारुढ गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ ।
माओवादीले गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने निर्णय गरे पनि सत्ता गठबन्धनले निरन्तरता पाउने सम्भावना लगभग समाप्त हुँदै गएको छ । माओवादी र नेकपा एकीकृ समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले एमालेसँग मिलेर एमसीसी पारित गर्ने रणनीति अपनाएका छन् । यस विषयमा एमाले पनि सकारात्मक देखिएको छ ।
पछिल्लो समय सत्ता नेतृत्व कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच छलफल बाक्लिएको छ । ‘सत्ता गठबन्धन तोड्ने भए एमसीसी पारित गर्न सहयोग गर्ने’ भन्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई सार्वजनिक रुपमै भनिसकेका छन् ।
यस्तो अवस्थामा माओवादीले सत्ता गठबन्धन जोगाउन अन्तिम प्रयास गरे पनि सम्भावना कम हुँदै गएको देखिन्छ । यदि, माओवादी र एकीकृत समाजवादी एमसीसी पारित गर्न तयार भए भने मात्र सत्तारुढ गठबन्धन यथावत रहन सक्छ । तर, माओवादी र एकीकृत समाजवादी एमसीसीको पक्षमा उभिने सम्भावना अत्यन्तै न्यून छ ।











