बागमती । मकवानपुरको हेटौँडामा रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगको चुनढुङ्गा खानीका कारण राक्सिराङ गाउँपालिकामा रहेका अति सीमान्तकृत चेपाङ समुदायलगायत स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

उक्त उद्योगले वडा नं. ४ मा रहेको गिगुं क्षेत्रमा चुनढुङ्गा उत्खनन् गर्न थालेसँगै त्यहाँ बसोबास गर्ने चेपाङ समुदाय समस्यामा परेको बताइएको छ । चुनढुङ्गा उत्खनन्का क्रममा स्थानीयवासीको घर नै पुर्न थालेपछि विस्थापित हुनु परेपछि चेपाङहरुले तत्काल पुनर्वासको माग गरेका छन् ।
साठी घरपरिवारले तत्काल पुनर्वासको व्यवस्था, जबर्जस्ती घरबास उठाउन बन्द गर्न र उचित मुआब्जाको व्यवस्थाको माग गरे पनि सरोकारवाला पक्ष मौन रहेकाले आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।
राक्सिराङ क्षेत्रमा चेपाङ समुदायहरु केही समय अघिसम्म आन्दोलनमा उत्रिए पनि केही नलागेपछि विस्थापित नै हुनुपरेको राष्ट्रिय मानवअधिकार आयोगको एक अध्ययनले जनाएको छ । आयोगका अधिकृत किरण बरालले खानी क्षेत्र आसपासका करिब ३५ घरधुरी विस्थापित भइसकेको जानकारी दिए ।
आयोगका अनुसार स्थानीय गोठे चेपाङ आफ्नो १८ जनाको परिवारसहित राक्सिराङ–४ का विश्वराज मोक्तानको घरमा आश्रय लिएर बसिरहेका र खानी क्षेत्रमा रहेको उनको जग्गा दलालमार्फत उद्योगलाई बिक्री भइसकेको खुल्न आएको छ ।
खानी क्षेत्रबाट विस्थापित भएका केही बासिन्दा मनहरि गाउँपालिका–७ मा आएर बसेका छन् । अन्य विस्थापित परिवार अन्यत्र गइसकेको आयोगको अध्ययनले जनाएको छ ।
गिगुं क्षेत्रका अधिकांश चेपाङ परिवार विस्थापित भइसकेपछि स्थानीय विद्यालय पनि बन्द भएको आयोगका उपसचिव हरिप्रसाद ज्ञवालीले बताए । चेपाङ सङ्घका जिल्ला अध्यक्ष पूर्णबहादुर प्रजा गिगुंको बस्तीबाट विस्थापित हुनुपरेपछि आफूहरु आफन्तको घरमा बस्दै आएको बताउँछन् ।
अहिले गिगुंका २३ घरपरिवारलाई प्रदुषणले मर्नु न बाँच्नुको अवस्थामा पुर्याएको उनको गुनासो थियो । “आर्थिक अवस्था कमजोर रहेको चेपाङको समस्या कसैले सुनवाइ गर्दैन,” प्रजाले पीडा पोखे ।
गाउँपालिका र उद्योग व्यवस्थापनबीच समस्या समाधानका लागि ११ बुँदे समझदारी भए पनि उक्त उद्योगले सहमति कार्यान्वयन नगर्दा थप समस्या उत्पन्न भएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।
गाउँपालिकासँग समन्वयन गरी खानी सञ्चालन गरिएकाले समस्या जटिल बनेको उनको भनाइ थियो । उता, उद्योग प्रशासनमा जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।











