Logo
Logo

संसद बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने


2.9k
Shares

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

आजको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा आजको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने उल्लेख छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नेछन ।

त्यस्तै दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकार बीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ ।

प्रतिनिधिसभाको बैठअघि आजै बिहान साढे ११ बजे नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुख अग्नि सापकोटाको सचिवालयले जनाएका छन् ।

यसअघि यही फागुन १२ र १३ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको थियो । एमसीसी सम्झौता संसदबाट पास गर्ने विषयमा सत्ता गठबन्धन दलभित्रै विवाद रहेकाले यसअघिका बैठकहरु स्थगित हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्