
गलकोट । बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरण गरेको छ ।
आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए ।
नगरपालिकाको रु. १२ लाख २० हजार र धवलागिरि अस्पतालको रु. दुई लाख गरी रु. १४ लाख २० हजारमा कर छुट गरी शववाहन खरिद गरिएको हो । बिरामी बोक्ने एम्बुलेन्समै शव बोक्नुपर्ने समस्या भएपछि नगरपालिकाले शववाहन खरिद गरेर शनिबार सो अस्पताललाई हस्तान्तरण गरेको छ ।
शववाहन सञ्चालनमा ल्याएपछि शव व्यवस्थापनमा निकै सहज हुने धवलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेन्ट डा. शैलेन्द्र विक पोखरेलले बताए । “नगरपालिका र अस्पतालबीच शववाहन सञ्चालन कार्यविधि बनाएर शववाहन सञ्चालनमा ल्याइने छ”, उनले भने ।











