Logo
Logo

कलिलो दिमागमा मोबाइलको लत



कसैले तपाईंलाई जीवनको कुन समय फेरि बाँच्न चाहनुहुन्छ ? भन्ने प्रश्न गरे के भन्नुहुन्छ ? सायद बालापन भन्नुहुन्छ । आफ्नो बालापन प्रायः सबैलाई प्रिय र सुन्दर लाग्छ ।

अवोध, निस्फिक्रिपन, स्वतन्त्रता कसलाई मनपर्दैन र ? त्यसैले त उमेरले डाँडा काटिसक्दा पनि बालापनको याद ताजै हुन्छ । दौतरीसँग भेट हुँदा बालापनको कुरामा गफिन्छौँ । जतिखेर बालापनमै पुगेजस्तो महसुस हुन्छ ।

समय र भुगोलअनुुसार बालापन फरक–फरक होला । आमाबुबाको बालापन र छोराछोरीको बालापन नमिल्ला । अहिलेका बच्चा र उहिलेका बच्चाका बालापन मिल्दैन सायद । त्यस्तै, सहर र गाउँको बालापन पनि मिल्दैन । तर, सबैलाई आ–आफ्नो बालापन औधी मनपर्छ । बुढेसकालमा त्यो बालापन निकै प्रिय लाग्छ ।

आहा ! त्यो समय, त्यो उमेर र त्यो परिवेश अनि खोयाका घरहरू, गाइनेकिराको पुच्छरमा धागो बाँधेर उडाएका पलहरू ! आमाबुबाले नदेख्नेगरी मतानमा राखेका बाँसका खेलौना बन्दुकहरू, सिरानीमुनिको गुलेली, खुट्टी खेल्दा औंलामा लागेका चोटहरू !

ढुंगेधारामा बगेको पानी, छेउछेउमा वनजंगल र चिरबिर– चिरबिर चराहरु मिठासहरु ताजै छन्, बारीका धुलो मनमै टाँसिरहेका छन्, गट्टाहरू हृदयमा उफ्रिरहेका छन्, पाङ्ग्राहरू मस्तिष्कमा घुँइकीरहेका छन् । तर अहिले, समय फेरियो, रहर फेरियो, परिवेश फेरियो ।

हुन त अहिले पनि घाम पूर्वबाटै झुल्कन्छ । अस्ताउने पश्चिममै हो । घाम लाग्ने दिउँसै हो । तर, बिम्ब फेरिएयो, परिस्थिति बदलियो अनि जीवनशैली पनि ।

बढ्दो सहरीकरण र सूचना प्रविधिको विकासले सबै फेरिए । ती गट्टा, गुच्चा, चुङ्गी, खुट्टी, भाडाकुटीहरु पजल, क्यान्डीक्रस, टेम्पल रन, टकिङ टम, एंग्र्री बर्ड, पब्जी र फ्री-फायरमा परिणत भए ।

खेल्ने र दौडने चौर मोबाइल र टिभीको स्क्रिनमा सीमित बन्यो । बालबालिका सानातीना जोखिम उठाउन र रमाउन छाडे । उनीहरूको लागि सबैथोक मोबाइल बन्यो । बनमारा र तितेपातीका मुनाहरू एक्लिए । उनीहरूलाई एकै ठाउँमा बाँध्ने रबरले बाटो बिर्सियो ।

खेल्ने र दौडने चौर मोबाइल र टिभीको स्क्रिनमा सीमित बन्यो । बालबालिका सानातीना जोखिम उठाउन र रमाउन छाडे । उनीहरूको लागि सबैथोक मोबाइल बन्यो ।

बनमारा र तितेपातीका मुनाहरू एक्लिए । उनीहरूलाई एकै ठाउँमा बाँध्ने रबरले बाटो बिर्सियो । भौतिक रूपमा खेल्ने चुङ्गी, खुट्टी कबड्डी, लात्ती फगत खेलमात्रै होइनन् । यस्ता खेलले शारीरिक रुपमा तन्दुरूस्त बनाउन मद्दत पुर्याउँछ ।

समाज सहरीय बन्दै गयो । संयुक्त परिवार टुक्रिएर एकल परिवार बन्न थाले । छरछिमेकीकहाँ आवत–जावत नै गर्दैनन् । दौँतरी भेटिन छाडे । बालबालिका एउटै कोठामा मोबाइलमा गेम खेलेर घण्टौं बिताउ थाले । उनीहरूको ध्यान मोबाइलमा मात्रै हुन्छ । एकोहोरो गेम खेलिरहन्छन् । कसैले बोलाउँदा सुन्दैनन् । भोक लागेको पत्तो पाउँदैनन् । शरीर कक्रिएको भेउ पाउँदैनन् । घरबाहिर साथीभाइसँग घुलमिल गराउनुको साटो मोबाइल दिएर टार्ने प्रवृत्ति हावी भएको छ ।

शहरमा मात्र होइन, गाउँमा पनि स्मार्ट फोन पुग्यो । आफ्नो बच्चाले सानै उमेरमा मोबाइल चलाउन जान्यो भनेर धेरै मख्ख छन् । बच्चाको तारिफ गर्दै अरूलाई सुनाउँछन्– ‘यो त खत्रा छ, आफूलाई के हेर्न मन लाग्छ, आफै निकाल्छ, गेम खेल्नसमेत मलाई सिकाउँछ, मलाई थाहा नभएको गेमहरू यसलाई थाहा छ, मैले नजानेको कुराहरू जानिसके ।’

सुरू सुरूमा बच्चा रूँदा फकाउन मोबाइल दिइन्थ्यो । अहिले लत बनेको छ । यसको लत बालबालिकामा अत्याधिक बढ्दै गएको छ । अहिले बच्चा भुलाउन या खाना खुवाउन मोबाइल नदिई नहुने स्थिति आएको छ । उनीहरू यसलाई बाध्यता बताउँछन् । तर, बाध्यता भनेर कतै बच्चालाई विष त खुवाउन भएन नि !

कोरोनाकालमा स्कुलले अनलाइन क्लास पढायो । शैक्षिक संस्थाहरूले अनलाइनबाट पढाएपछि अभिभावकले बालबालिकाको हात–हातमा एन्ड्रोइड मोबाइल थमाइदिए । यसले बालबालिकामा झनै मोबाइलको लत बस्यो । त्यसपछि फुर्सद हुनेबित्तिकै इन्टरनेटमा मनोरञ्जन लिने वा भिडियो सामग्री हेर्ने बानी लागेको छ ।

मोबाइल चलाउनु एक प्रकारको नसा हो । मोबाइलको लत पनि जाँड–रक्सीको लतजस्तै भएको मनोविद् डा. गोपाल ढकाल बताउँछन् । लामो समयसम्म मोबाइल हेरिरहँदा मोबाइलबाट निस्कने रेडियसनले आँखालाई अन्धो बनाउन सक्छ । टाउको दुख्नेजस्ता समस्या देखा पर्छ । त्यतिमात्रै होइन, ब्रेनमा समेत असर गर्छ ।

ब्रिटेनका स्वास्थ्य प्रमुखहरूको अध्ययनका अनुसार मोबाइलको बढी प्रयोगले चिन्ता र डिप्रेसनजस्ता नकारात्मक असर पर्छ । घरमै बसिरहँदा बालबालिका मोटोपनको शिकार हुन्छन् । निन्द्रा नपुग्ने हुँदा पाचन प्रक्रिया र रक्त सञ्चार प्रक्रियामा पनि असर गर्छ ।

इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा समेत पर्ने गरेको सिविन नेपालको अध्ययनले देखाएको थियो । दुई वर्षअघि अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिक पनि यौन शोषणमा परिरहेको देखाएको छ ।

अमेरिकामा बढी मोबाइल प्रयोग गर्ने र कम प्रयोग गर्ने बालबालिकाको मस्तिष्क विकासबारे अध्ययन नै गरिएको थियो । उक्त अध्ययनले बढी मोबाइल प्रयोग गर्ने बालबालिकाको मस्तिष्कको विकासमा बाधा पुर्याएको निष्कर्ष निकालेको छ ।

मोबाइलबाट उत्पन्न हुने विकिरणका कारण बालबालिकामा स्मरण शक्तिमा ह्रास हुने, मस्तिष्क क्यान्सरजस्ता जटिल समस्या देखापर्ने अध्ययनले देखाएको छ ।

मोबाइल बढी चलाउँदा बालबालिकामा मनोवैज्ञानिक असरसमेत पर्ने जानकार बताउँछन् । इन्टरनेटमा अश्लील फोटो तथा भिडियोहरू हेर्नाले बालबालिकामा नकारात्मक सोचहरू आउने, आक्रामक गेमहरू खेल्ने बानीले अत्याधिक रिसाउने र जिद्दी स्वभावको बन्ने गरेका छन् ।

त्यस्तै, अधिक मोबाइल चलाउने बालबालिकाले आफ्नो संसार नै मोबाइलमा सीमित राख्दछन् । आफूभन्दा ठूलालाई कसरी आदर सम्मान गर्ने, सानालाई कसरी माया गर्ने भन्ने थाहा हुँदैन । उनीहरूमा असहयोगी भावनाको विकास भइरहेको हुन्छ । समूहमा खेलिने खेलले सामाजिकीकरणमा सहयोग पुर्याउने मनोविद् ढकालको बताउँछन् ।

साना बालबालिकालाई भुलाउन अभिभावकले मोबाइल दिने गरेको पाइन्छ । काम गर्नका लागि बालबालिकालाई मोबाइल दिने र आफू काममा लाग्ने धेरै अभिभावक भेटिन्छन् । यो नै पहिलो समस्या भएको मनोविद् ढकालको भनाइ छ । सबैभन्दा पहिला अभिभावक सचेत हुनपर्नेमा उनको जोड छ ।

मोबाइलविना बच्चा हुर्काउन सकिँदैन भन्ने भ्रमलाई समयमै चिर्नैपर्छ  । बालबालिकाका लागि सहरमा पर्याप्त खेल्ने स्थान छैन, यो आफैँमा समस्या हो । तर, समस्यामात्रै हुँदैन, समाधान पनि हुन्छ । यसको समाधान अभिभावकले खोज्नुपर्छ । बालबालिकाको विकासका लागि घरमै पनि खेल खेलाउन सकिन्छ  ।

बालबालिका मोबाइलको लतमा फस्नुको अर्को कारण एक्लोपना हो । जब, बालबालिका आफूलाई एक्लो महसुस गर्छन् । समय व्यतित गर्न मोबाइलको सहारा लिन्छन् । तर, मोबाइल र टेलिभिजनमा लत बसेपछि बाहिरी विविध गतिविधिमा घुलमिल हुन रुचाउँदैनन् । त्यसैले अभिभावकले बालबालिकालाई समय दिनुपर्छ । उनीहरूसँगै खेल्नुपर्छ । बिदाको समयमा घुमाउन लैजानुपर्छ । पारिवारिक जमघट गराउनुपर्छ ।

लत छुटाउन बालबालिकालाई मोबाइल खोसेर राखिदिनु नहुने मनोविद् ढकाल बताउँछन् । उनीहरूसँग समय बिताउने, साथीहरूसँग घुलमिल गराउने, नयाँ र आकर्षक पुस्तकहरू किनेर ल्याइदिने गर्नुपर्ने ढकालको सुझाव छ ।

अहिले मोबाइलको लत सामान्य देखिएपनि यसको असर विस्तारै बढ्दै गइरहेको छ । यो समस्या दिन प्रतिदिन विकराल बन्दै गइरहेको छ । त्यसैले बेलैमा अभिभावक सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्