
काठमाडौं । अवदेखि रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न पाइने भएको छ । रात्रिकालीन व्यवसायमा लगाइएको समय सीमा हटाएर २४ सैं घण्टा चल्न दिने निर्णय गरेको मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
शान्ति सुरक्षा महाशाखाका प्रमुख पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार सरकारले मापदण्ड तयार बनाएर रात्रिकालीन व्यवसायलाई रातभर खुला राख्न दिने निर्णय गरेको हो ।
मापदण्डमा डान्सबार तथा नृत्य प्रस्तुत हुने स्थानमा अश्लिलता प्रदर्शन हुने गरी नाँच्न नपाइने भनिएको छ ‘नृत्य प्रदर्शन गर्ने कलाकारहरूले सीपमूलक नृत्य प्रदर्शन गर्नुपर्ने छ’ मापदण्डमा लेखिएको छ, ‘आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्ने सेवाग्राहीको रुपमा सेवा लिन आउने सबै पाहुनालाई स्वस्थ मनोरञ्जन प्रदान गर्नुपर्नेछ ।’ कानुन अनुसार इजाजत प्राप्त गरेर मात्र मनोरञ्जन प्रदान गरेर आर्थिक वृद्धिमा टेवा पु¥याउने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने भनिएको छ ।
कामदारलाई पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायात सुविधा पनि व्यवसायीले उपलब्ध गराउनुपर्ने रात्रिकालीन व्यवसायमा काम गर्ने कामदारलाई पद अनुसार पोशाक, रातिको खाना र घरसम्म पुग्ने यातायातको सुविधा पनि उपलब्ध गराउनुपर्ने भनिएको छ ।
रात्रिकालीन समयमा होटल तथा रेष्टुरेण्टमा पुगेका ग्राहक घरसम्म पुग्न नसक्ने अवस्था भएमा व्यवसायी आफैँले पु¥याइदिनु पर्ने भएको छ । सेवा लिइसकेपछि व्यवसाय स्थलबाट आफ्नो घरसम्म पुर्यायाइदिन ग्राहकले अनुरोध गरेमा सम्बन्धित व्यवसायीले पु¥याउनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।
पर्यटन, होटल, रेष्टुरेन्ट तथा मनोरञ्जनात्मक क्षेत्रमा बाल श्रमिकको प्रयोग गर्न नपाइने पनि भनिएको छ । साथै, १८ वर्ष उमेर नपुगेका बालबालिकालाई डान्स, रेष्टुरेन्ट, बार, लाइभ ब्याण्ड, लाउन्ज बार, पवबार, क्लब, डिस्को जस्ता व्यवसायमा ग्राहकको रुपमा प्रवेश गर्न पनि निषेध गर्नुपर्ने भनिएको छ ।
‘सबै व्यवसायीहरूले आफ्नो व्यवसायको निर्धारित मूल्य सूचीविपरीत अनावश्यक रुपमा बिलिङ गरी ग्राहकलाई गैरकानुनी रुपमा दुःख दिन पाइने छैन ।’ मापदण्डमा उल्लेख छ ।














