Logo
Logo

मतगणना सजिलो बनाउन हरियो रङको चुनाव चिन्ह : निर्वाचन आयोग


1.1k
Shares

काठमाडौं । निर्वाचन आयोगले मतगणनामा सहजता ल्याउन मतपत्रमा चुनाव चिह्न हरियो रंगको बनाउन लागिएको स्पष्ट पारेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मतपत्र र स्वस्तीक चिन्ह एउटै हुँदा मतगणनामा समस्या हुने देखिएकाले मतपत्रलाई हरियो रंगको बनाउन लागिएको र यो नितान्त प्राविधिक काम भएको बताएका हुन् ।

गणनामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको भन्दै उनले यसमा द्विविधा भए आयोगले प्रष्ट पार्ने धारणा राखे ।

अर्यालले भने– ‘मतगणनामा सहजता होस् भनेर हरियो रङको चुनाव चिन्ह राख्न लागिएको हो । कसैलाई यसमा केही प्रश्न छ भने आयोग प्रष्ट पार्न तयार छ ।’ एमाले अध्यक्ष केपी शर्मा ओलीले गत मंगलबार र बुधबार एमालेको कार्यक्रममा निर्वाचन चिन्ह हरियो बनाउने निर्णयप्रति आपत्ति जनाएका थिए ।

त्यस्तै आयोगसंग भएको भोटिङ मेशिनबाट मतदान गर्दा प्राविधिक समस्या देखिने भएकाले प्रयोग गर्न नसकिने अर्यालले बताए । उनले विदेशमा रहेका नेपालीहरुलाई निर्वाचनमा भाग लिने व्यवस्थाका लागि कानुनी पूर्वाधार नवनेको बताए ।

त्यस्तै अर्यालले मतदाता नामावली अध्यावधिक गर्ने काम नियमित भइरहेको र अन्तिम नामावली गर्ने चरणमा आयोग पुगेको जानकारी दिए ।

त्यस्तै निर्वाचन प्रयोजनका लागि २३ प्रकारका निर्वाचन सामाग्रीहरु खरिदका लागि न्युनतम खरिद मूल्य प्रस्ताव गर्ने कम्पनीको नाम स्वीकृत भएको र सम्झौताको प्रक्रियामा रहेको जानकारी दिए ।

त्यस्तै आयोगले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नाम प्राप्त भएको र अध्ययनको क्रममा रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्