काठमाडौं । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमतीलाई नमूना प्रदेशका रुपमा विकास गर्नुपर्ने धारणा राखेकी छन् । उनले विगतका सबै कमिकमजोरीलाई सच्चाएर अगाडि बढ्नुपर्ने बताइन् ।
प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा प्रदेशसभा बैठकमा आज आफ्नो धारणा राख्दै शाक्यले संसद् सञ्चालन गर्न सत्तापक्षले भन्दा बढी प्रमुख प्रतिपक्षका रुपमा आफूहरुले भूमिका खेलेको बताइन् ।
जनताप्रति सरकार र प्रतिपक्ष दुबै उत्तरदायी तथा जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो । सरकार र प्रतिपक्ष कसैले पनि सङ्किर्ण सोच राख्न नहुने शाक्यले बताइन् ।
उनले प्रदेशको आफूहरुसमेत सहभागी भई तयार गरेका सुरुङमार्ग, विद्युतीय बस सञ्चालन लगायतका महत्वपूर्ण योजना कटौती गर्ने सरकारको निर्णय उचित नभएको बताइन् ।
‘मुख्यमन्त्रीले विद्युतीय बस सञ्चालनका लागि तथा सुरुङमार्ग निर्माणका लागि छुट्याएको बजेट तुरुन्तै अन्त खर्च गर्छु भनेर संसद्मा उभिएर भन्नुभएको कुरा नाजायज छ’ उनले भनिन्।
सदनबाट पास भएको बजेट सदनलाई जानकारी नदिई अन्यत्र खर्च गर्नु कानुन विपरीत हुने पूर्व मुख्यमन्त्री शाक्यको भनाइ थियो ।











