Logo
Logo

विजया दशमीको उत्तम साइतको टीका लगाइयो, सडकमा बढ्न थाल्यो चहलपहल


0
Shares

लगाइयो

काठमाडौं । बडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहान १० बजेर २६ मिनेटको उत्तम साइतमा दशैँको टीका लगाइएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विजयादशमीको टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेहरूका लागि बिहान १०ः२६ बजेको साइत उत्तम रहेको जनाएको थियो । समितिले टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्ने पनि उल्लेख गरेको थियो । शुभ साइतमा टीका लगाएपछि अहिले पनि देशैभर मान्यजनबाट टीका तथा आशीर्वाद लिने क्रम जारी छ ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले आज दिनभर टीका लगाउन सर्वसाधारणले साइत खोज्नुनपर्ने समितिले स्पष्ट पारेको छ । टीका लगाएसँगै उपत्यकाका सडकमा मानिसहरुको चहलपहल बढ्न थालेको छ । दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरुको सडकमा चहलपहल सुरु भएको हो । दशैँअघि लाखौँ मानिस उपत्यका बाहिर गएकाले केही दिन सुनसान बनेको काठमाडौंका सडकमा आज टीकाको साइतपछि भने चहलपहल बढेको हो ।

निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् । सार्वजनिक गाडी फाट्टफुट्ट रुपमा मात्रै चलेका छन् भने निजी गाडीमा मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा आउनेजाने गरिरहेका छन् । विजयादशमीका दिन गुरु, पुरोहित, हजुरबा, हजुरआमा, बुबा, आमा तथा अन्य मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्