
एजेन्सी । रुसले अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई नै प्रतिबन्ध लगाएको छ । युक्रेनमाथि लगातार आक्रमण गर्दै आएको रुसविरुद्ध यसअघि अमेरिकाले विभिन्न चरणमा प्रतिबन्ध लगाउँदै आएको थियो ।
त्यसैको बदलास्वरुप रुसले बाइडेनलगायत अमेरिकाका १३ जना शीर्ष अधिकारीहरूविरुद्ध प्रतिबन्धको घोषणा गरेको हो । प्रतिबन्धको सूचीमा बाइडेन, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन, रक्षा सचिव लयड अस्टिन, राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवन र सीआइएका प्रमुख विलियम बर्न्सलगायत रहेका रूसी विदेश मन्त्रालयले जनाएको छ ।
रुसका अनुसार अमेरिकाका अन्य अधिकारीहरूसमेत प्रतिबन्धबाट प्रभावित हुनसक्ने छन् । युक्रेनविरुद्ध निरन्तर हमला गरेयता रूसमाथि अमेरिकासहित अन्य पश्चिमा मुलुकहरूले दर्जनौं प्रतिबन्ध लगाउँदै आएका छन् । ती देशहरुले रूसका सरकारी अधिकारीहरू, कम्पनीहरू र अर्बपतिहरूविरुद्ध प्रतिबन्ध घोषणा गर्दै आएका हुन् ।
यसैबीच, रूसबाट हुने तेल आयातमा पनि अमेरिकाले रोक लगाएको छ । पश्चिमा देशले धम्क्याइरहँदा थप आक्रामक रुपमा प्रस्तुत हुँदै आएको रूसले आफूमाथि प्रतिबन्ध लगाइएपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ३०० अमेरिकी डलरसम्म पुग्ने चेतावनी दिइसकेको छ ।











