
ताप्लेजुङ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पेट्रोलियम पदार्थ बोतलमा भरेर बेच्ने व्यापारीलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।
प्रशासनले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गर्दा अवैधिनिक ढंगले खुल्ला तरिकाबाट पेट्रोलिय पदार्थ किनबेच भएको पाइएपछि बन्द गर्न २४ घन्टे अल्टिमेटम दिइएको जनाएको छ । मङ्गलवार विश्व उपभोक्ता अधिकार दिवसको सन्दर्भ पारेर जिल्ला प्रशासनसमेतको संयुक्त टोलीले फुङ्लिङ बजारमा अनुगमन गरेको थियो ।
त्यसक्रममा पानीको बोतलमा राखेर जथाभावी रुपमा पेट्रोलियम पदार्थ खरिद बिक्री भएको पाइएपछि अति प्रज्ज्वलनशील पदार्थ पेट्रोल अवैधरुपमा बिक्री वितरण गर्नेलाई कारबाही गर्न लागिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले दिइएको समयसीमाभित्र नहटाएमा वा बोतलबाटै पेट्रोलियम पदार्थ बिक्री गरेको फैला परेमा तुरुन्तै नियन्त्रणमा लिई बेच्नेलाई कानुनअनुसार कारबाही गरिने चेतावनी दिएका छन् ।
उक्त सदरमुकाममा यसअघिदेखि नै तरकारी, किराना, फलफूललगायत विभिन्न पसलमा व्यापारीले पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बेच्दै आएका बताइएको छ । ती पसलहरुमा बिक्री गरिने अधिकांश पेट्रोलियम पदार्थमा पानी वा अन्य तरल पदार्थ मिसावट हुने गरेको जनाइएको छ । स्थानीयवासीहरु पेट्रोलियम पदार्थ अति प्रज्ज्वलनशील पदार्थ भएका कारण आगलागीको जोखिम पनि उत्तिकै बढेको भएको बताउँछन् ।
यसअघि पनि गैरकानुनी ढंगले पेट्रोलियम पदार्थ बेच्ने गरिएपनि सम्बन्धित निकाय भने मौन बस्ने गरेको आरोप उपभोक्ताले लगाउँदै आएका छन् । त्यस्तै अनुगमन टोलीले उक्त बजारबाट म्याद गुज्रेका र सडे–गलेका खाद्य पदार्थहरु समेत फेला पारिएको जानकारी दिएको छ । सो बजारका माछा तथा मासु पसलमा कुहिएका र सडेका माछामासु फेला परेका हुन् । केही पसलमा फेला परेका निकै सडेको र कुहिएको माछा मासु जफत गरी नष्ट गरिएको बताइएको छ ।
यसैबीच, फेरि पनि सडे–गलेका माछामासु बिक्री वितरण गरेको भेटिएमा कानुनबमोजिम कारबाही गरिने भन्दै टोलीले व्यापारीलाई सचेत गराएको छ । सो टोलीले त्यहाँस्थित केही किराना पसलहरुबाट म्याद नाघेका अखाद्य वस्तुहरु भेटिएपछि जफत गरिएको जनाएको छ ।











