Logo
Logo

प्रथम आँबुखैरेनी अध्यक्ष कप सम्पन्न


441
Shares

दमौली । आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्ष कपअन्तर्गत फुटबल प्रतियोगिताको उपाधि अलस्टार युवा क्लबले जितेको छ । मङ्गलवार सम्पन्न फाइनल खेलमा एक्लेफाँट युवा क्लबलाई पराजित गर्दै अलस्टारले उपाधि जितेको हो ।

उपाधिसँगै अलस्टार क्लबले नगद रु. ६० हजार र ट्रफी प्राप्त गरेको छ भने उपविजेता एक्लेफाँटले नगद रु. ४० हजारका साथै ट्रफी प्राप्त गरेको छ । अध्यक्ष कपअन्तर्गत भलिबलको उपाधि आँबुखैरेनी भलिबल संघले जितेको छ । भलिबलमा आँबुखैरेनी गाउँपालिका–३ उपविजेता बन्यो । विजेता बनेको आँबुखैरेनी भलिबल संघले नगद रु. ६० हजार र उपविजेता आँबुखैरेनी गाउँपालिका–३ ले रु. २० हजार नगद प्राप्त गरेको छ । त्यस्तै व्याडमिन्टनतर्फ दीपक गुरुङ र विनय श्रेष्ठको जोडी प्रथम भएको छ ।

उनीहरूले नगद रु. २५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरे । भगवान् श्रेष्ठ र अभियान श्रेष्ठको जोडी द्वितीय हुँदा उनीहरूले नगद रु. १५ हजारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । सन्तोष थपलिया र मिजेन्द्र थापाको जोडी अनुशासित समूह घोषित भएको छ । उनीहरुले रु. पाँच हजार नगद प्राप्त गरेका छन् । आँबुखैरेनी गाउँपालिका–३ स्थित खेलमैदानमा खेल सञ्चालन गरिएको थिए । विजयी हुनेहरूलाई पुरस्कार वितरण गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले खेलकुदको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।

उनले गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि विविध कारणले अध्यक्ष कप आयोजना गर्न नसकिए पनि सुरुवात गरिएको बताए । आँबुखैरेनी खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले गाउँपालिकाभित्रका खेलाडीलाई प्रोत्साहन गर्न र खेलकुदमा आकर्षित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्