काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।
नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग आज सिंहदरबारस्थित मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताए ।
उनले भने, ‘लोकतान्त्रिक मर्यादाअनुरूप माग प्रस्तुत गर्न पाइन्छ, लामो समयसम्म पढाइ अवरुद्ध हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुप¥यो । प्राध्यापक सङ्घले गृहकार्य गरी समस्या बुझेर समाधानको निकास निकाल्ने गरी पहल गर्नुहोस् ।’
उनले सबै विश्वविद्यालयका सेवा आयोगहरू एकै प्रकृतिको भएकाले एकरूपता कायम गरिने बताए ।
प्राध्यापकका सेवासुविधा सम्बन्धमा सबै राष्ट्रसेवकलाई एउटै मापदण्ड बनाएर अघि बढ्ने योजनामा रहेको मन्त्री पौडेलले बताए ।
विश्वविद्यालयहरु समस्या परे मात्र मन्त्रालयमा आउने गरेको भन्दै नियमन संयन्त्र र स्वायत्तको स्पष्ट खाका तयार गर्नुपर्ने पनि मन्त्री पौडेलले बताए ।
विश्वविद्यालयहरूले समस्या परेका बेला मन्त्रालयमा आउने तर अरू जिम्मेवारी, अनुशासन र नियमन सुधारका अवस्थामा स्वायत्त भएको भन्ने गरिएको उनले बताए ।














