
स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक महत्व बोकेको कालीगण्डकी नदीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् ।
स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटमा जगदगुरु अनन्त श्री विभूषित श्री बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीद्वारा जगदगुरु श्री निम्बार्काचार्य भगवान, विरचित बेदान्त दशश्लोकी माथि दार्शिनिक प्रवचनमा पोखरेलले यसका लागि युनेस्कोसँग समन्वय गरिएको जानकारी गराए । रामदी नजिकै डाइभर्सन बनाएर कालीगण्डकीको पानी तिनाउमा मिसाउन संघ सरकारको आयोजना कुनै हालतमा हुन नदिने पनि उनले प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘कालीगण्डकी नदी अन्य नदीजस्तो होइन, यसको छुट्टै महत्व र विशेषता छ, कालीगण्डकी हाम्रो सभ्यता, आस्था, भावना र शालिग्रामसँग जोडिएको छ ।’
विश्वको इतिहासको अध्ययन गरिरहेका पश्चिमाहरुले समेत अहिले शालिग्रामलाई आधार मानेर अनुसन्धान गरिहेको उनले सुनाए । गण्डकी प्रदेश सभामा यसअघि नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा पनि डाइभर्सनको विरोधमा आवाज उठाएको स्मरण गर्दै उनले अहिले सरकारमा रहँदा पनि सशक्त विरोध गरिरहेको बताए । कालीगण्डकी डाइभर्सनका लागि बुटवलमा कार्यालय खोलेपछि गण्डकी प्रदेश सरकारले बृहत भेला डाकेर प्रदेशको साझा धारणा समेत गत असारमा सार्वजनिक गरिसकेको छ । त्यसलगत्तै सरकारले कालीगण्डकीको धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक महत्वका साथै सम्भाव्यताका बारेमा अध्ययन गर्न समिति पनि गठन गरेको छ ।
प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. सुवास अधिकारी संयोजक रहेको टोलीले अब केही दिनमा अन्तिम प्रतिवेदन बुझाउने मुख्यमन्त्री पोखरेलले बताए । गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन रहेको भन्दै उनले यसमा धार्मिक पर्यटन महत्वपूर्ण पाटो रहेको भनाइ राखे । दक्षिणको गजेन्द्रमोक्ष धामदेखि उत्तर दामोदरकुण्डसम्मका तीर्थस्थललाई धार्मिक करिडोरमार्फत् जोडेर लैजानुपर्ने उनको भनाइ थियो । स्याङ्जाको चापाकोटमा पहिलोपटक पुगेका मुख्यमन्त्री पोखरेलले चापाकोट मात्र नभएर कालीगण्डकी उपत्यकाको समग्र विकासका लागि एकीकृत योजना ल्याउने प्रतिबद्धता जनाए ।
स्थानीयको माग सम्बोधन गर्दै उनले चापाकोट र पाल्पाको रामपुर जोड्ने पक्की पुलका साथै ज्याग्दीखोलामा समेत पुलको योजना आगामी बजेटमा समावेश गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका सचेतक भागवतप्रकाश मल्लले चापाकोट र आसपासका क्षेत्रको विकासका लागि आफूले हरसम्भव प्रयास गर्दै आएको बताए । आफ्नो निर्वाचन क्षेत्रका २६ वटै वडामा समानुपातिक रुपमा योजना परेको भन्दै चुनावमा प्रतिबद्धता जनाए अनुसारका बाचा पूरा गरेरै छाड्ने भनाइ राखे । कार्यक्रममा चापाकोट नगरपालिकाका प्रमुख शिव गिरीले झण्डै ५ वर्षको अवधिमा स्थानीय सरकारले नगरपालिकको मुहार फेर्ने काम गरेको बताए ।
उक्त अवसरमा नगरपालिकाकी उपमेयर विमला श्रेष्ठ, नेपाली कांग्रेस स्याङ्जा सचिव गुरुप्रसाद भट्टराई, मन्दिर व्यवस्थापन समिति अध्यक्ष भोजराज भण्डारी, स्थानीय रोहित विक, नवीन काफ्ले, गोकर्णप्रसाद भट्टराईलगायतले विकास निर्माणको आवश्यकताका बारेमा भनाइ राखेका थिए ।











