Logo
Logo

निर्वाचनमा प्रतिगामी शक्ति पराजय हुन्छ : माधव नेपाल


378
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन् ।

फागुपर्वका अवसरमा पार्टीले आज आयोजना गरेको होली मिलन तथा शुभकामना समारोहमा उनले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावमा लोकतन्त्र र संविधानको पक्षमा क्रियाशील राम्रा विचार बोकेका दलले विजय हासिल गर्ने बताए । उनले भने, ‘प्रतिगामी तथा अहंकारी व्यक्ति होलिका दहन भएजस्तै पराजय हुने छन् ।’

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले बहुभाषिक बहुसांस्कृतिक मुलुकमा सबै जाति समुदायको संस्कृतिले प्रेम सद्भाव अभिवृद्धि गरी नेपाली समाजलाई एकताबद्ध बनाउन सहयोग पुर्‍याउने विचार व्यक्त गरे ।

विविधताले सजिएको हाम्रो समाजमा एक अर्काका पर्व संस्कृतिलाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘नेपाली भएकामा हामीले गौरब गर्नुपर्छ, देशप्रति समर्पित हुनुपर्छ, यसले अनेकतामा एकता कायम गर्दछ ।’

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले फागुपर्वका अवसरमा समपूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै पार्टीले चुनाव केन्द्रीत भएर देशभर साङ्गठनिक गतिविधिलाई बलियो बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस्