पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल हुने बताएका छन् ।
जिल्लास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै यसका लागि एमालेसँग प्रारम्भिक छलफल भइरहेको उनले बताए । उनले भने, ‘अब विस्तृत रुपमै छलफल गरेर अघि बढ्छौं, आवश्यकता अनुसार अन्य दलसँग पनि सहकार्य हुन्छ ।’
शक्तिशाली ठूलो पार्टी निर्माणको लागि चुनावी एकता गर्नुपर्ने उनले बताएका थिए । गत फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा राप्रपा नेपाल पुनर्जागृत गर्न सफल भएको भन्दै उनले तुलनात्मक रुपमा अहिले पार्टी कमजोर देखिए पनि आगामी दिनमा देशको विकास गर्ने र राजनीतिको मूलधारमा स्थापित हुने दाबी गरे ।














