झापा । नेकपा एमालेका पूर्वकेन्द्रीय सदस्य भाष्कर काफ्ले नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो सदस्य भएका छन् ।
समाजवादीको शुक्रबार सम्पन्न सचिवालय बैठकले काफ्लेलाई पोलिटव्युरो सदस्य बनाउने निर्णय गरेको आइतबार जारी अपानी (अन्तर पार्टी निर्देशन)मा उल्लेख छ । उनी एमाले दस बुँदे पक्षका हुन । काफ्ले झापाका हाल एमालेमै रहेका रबिन कोइराला निकट नेता हुन ।

चितवनमा सम्पन्न एमालेको दशौँ महाधिवेशनमा ओली समूहबिरुद्ध केन्द्रीय सदस्यमा उम्मेदवार बनेर सर्वाधिक मत ल्याएका काफ्ले समाजवादीको पोलिटव्युरो सदस्य बनेका छन् ।
काफ्ले सिपी मैनालीले नेतृत्व गरेको नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियुको पूर्वकेन्द्रीय अध्यक्ष हुन् । उनले माले परित्याग गरि एमाले भएका थिए ।
झापाको अर्जुनधारा स्थायी बासिन्दा काफ्ले सात वर्ष एमालेको केन्द्रीय सदस्य र ताप्लेजुङको इन्चार्ज रहेका थिए । चितवन महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित काफ्ले एमालेको सल्लाहकार परिषद्को सदस्य थिए ।














