काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले स्थानीय तहको निर्वाचनमा कुनैपनि पार्टीसँग गठबन्धन वा तालमेल नगर्ने बताएका छन् ।
सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता भट्टराईले स्थानीयस्तरमा आवश्यकताअनुसार तालमेल र गठबन्धन भएपनि राष्ट्रियस्तरमा एमालेले तालमेल नगर्ने बताए ।

उनले भने, ‘यो निर्वाचनमा राष्ट्रियस्तरमा एमालेले कुनै पनि पार्टीसँग गठबन्धन गर्दैन । एमाले एक्लै चुनाव लड्छ ।’
उनले आज बोलाइएको पोलिटब्युरो बैठकका दुई एजेण्डा रहेको पनि बताए । उनका अनुसार ९ र १० गते बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गर्ने र आसन्न स्थानीय निर्वाचनको सम्पूर्ण तयारी गर्ने कुरामा बैठक केन्द्रीत रहेको छ ।
उनले एकातिर एमाले र अर्कोतिर गठबन्धन कित्ताबन्दी भएको अवस्था रहेकाले यस्तो अवस्थामा एमालेले सर्वसम्मत उम्मेदवार छानेर अघिल्लो निर्वाचनको तुलनामा अत्याधिक सिट जित्नेगरी एमालेको तयारी गर्ने बताए ।














