Logo
Logo

ऊर्जाको आन्तरिक खपत बढाउन राष्ट्रपति भण्डारीद्वारा जोड


441
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उर्जाको आन्तरिक खपत बढाउन जोड दिएकी छन् । शनिबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्सपो–२०२२ को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

राष्ट्रपति भण्डारीले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रले निर्वाह गरेको भूमिकाको प्रसंशा गर्दै आगामी दिनमा अझै बढी महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।

फाइल फोटो

ऊर्जाको आन्तरिक रुपमा नै खपत बढाउँदै निर्यातको दिशामा केन्द्रित भएकामा राष्ट्रपतिले खुसी व्यक्त गर्दै समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा गर्ने दिशामा केन्द्रित हुनसमेत आग्रह गरेकी छन् ।

राष्ट्रपतिले जनसहभागितामा जलस्रोतको बहुआयामिक उपयोग गर्दै समृद्धिको मार्गमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै सीमापार प्रसारण लाइनमार्फत नेपालको बिजुली विदेशी बजारमा निर्यातका लागि काम भइरहेकामा प्रसन्नता व्यक्त गरिन् ।

अझै पनि देशका विभिन्न स्थानका नागरिकले बिजुली बाल्न नपाएको तथ्य पेस गर्दै उहाँले हरेक घर र भान्छामा बिजुली पुग्ने वातावरण बनाउन सबैको सार्थक पहल आवश्यक रहेकामा जोड दिए । जलवायु परिवर्तनका कारण हिमालमा हिउँको मात्रा घट्दै जानु चिन्ताजनक विषय भएको तथ्य पेस गर्दै राष्ट्रपति भण्डारीले जलवायु अनुकूलन तथा हरियाली प्रवद्र्धनमा जोड दिन सबैको ध्यानकर्षण गराए ।

राष्ट्रपति भण्डारीले जलस्रोतको बहुउद्देश्यीय प्रयोग हर्दै हरित अर्थतन्त्रको विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिइन् । एकै पटक ठूलो लगानी लाग्ने र उत्पादनको अवधिसम्म प्रतिफल प्राप्त हुन गाह्रो हुने भएकाले साना तथा मझौला आयोजनामा निजी क्षेत्रले हात हालेको तथा त्यसमा उल्लेखनीय सफलता हासिल गरेकामा राष्ट्रपतिले ऊर्जा उद्यमीको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आफ्नो मन्त्रालयका तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा खरो उत्रिएको र हरतरहले सहयोग गरेको बताइन् । उनले ऊर्जा क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन कानुनी, नीतिगत एवम् संरचनागत क्षेत्रमा गर्नुपर्ने सुधारका लागिसमेत आफू तयार रहेको उल्लेख गरिन् ।

मन्त्री यादवले आफूले मन्त्रालय सम्हालेपछि वन मन्त्रालयसँग जोडिएका कुनै पनि फाइल नरोकिएको र निजी क्षेत्रमैत्री व्यवहार गरेको स्पष्ट पारिन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवाल र नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रमैत्री नीति तथा कानुनका कारण नेपालको ऊर्जा क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै अझै थप केही विषयमा सुधारको आवश्यकता औँल्याए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) का अध्यक्ष कृष्णप्रसाद आचार्यले देशको ऊर्जा क्षेत्रको विकासका लागि नयाँ अवसरको खोजी, प्रविधिको प्रयोग तथा लगानी आकर्षित गर्ने लक्ष्यका साथ एक्सपोको आयोजना गरिएको जानकारी दिए ।

जलविद्युत् क्षेत्रका नवीनतम् प्रविधिको प्रदर्शनीदेखि त्यससँग सरोकार भएका सबै विषयवस्तुमा बहस तथा छलफल गर्ने उद्देश्यले एक्सपोको आयोजना गरिएको एक्सपो तीन दिनसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्