काठमाडौं । श्रीलङ्काले एकदिवसीय क्रिकेटमा ४३० रनको लक्ष्य पूरा गर्दै इंग्ल्यान्डलाई पराजित गरेको छ । पाकिस्तानको रावलपिण्डीमा भएको त्रिदेशीय शृङ्खलाको खेलमा श्रीलङ्काले ४.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । यो एकदिवसीय क्रिकेट इतिहासकै दोस्रो ठूलो सफल लक्ष्य पछ्याउने कीर्तिमान हो ।

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले कप्तान ह्यारी ब्रुकको कीर्तिमानी दोहोरो शतकको मद्दतमा ५० ओभरमा ४ विकेट गुमाएर ४२९ रन बनाएको थियो । ब्रुकले ११६ बलमा २०२ रन बनाए भने विल ज्याक्सले ३० बलमा अविजित ६६ रन जोडेका थिए ।
४३० रनको लक्ष्य पछ्याउने क्रममा श्रीलङ्काले सुरुमै दुई विकेट गुमाए पनि पवन रत्नायकेले १०६ बलमा १३० रन बनाउँदै टोलीलाई सम्हालेका थिए । अविष्का फर्नान्डोले ९७ रन बनाए भने दासुन शनाकाले ५० बलमा ९७ रनको आक्रामक पारी खेलेका थिए ।
अन्तिम ओभरमा श्रीलंकालाई ६ बलमा ७ रन आवश्यक थियो । जनिथ लियानागेले २७ बलमा अविजित ६१ रन बनाउँदै अन्तिम ओभरको पाँचौँ बलमा छक्का प्रहार गरेर टोलीलाई ऐतिहासिक जित दिलाए ।
इंग्ल्यान्डका जोस टङले तीन विकेट लिए भने साम करनले दुई विकेट हात पारे । त्रिदेशीय शृङ्खलामा आयोजक पाकिस्तानसहित इंग्ल्यान्ड र श्रीलङ्का सहभागी छन् ।















