Logo
Logo

‘बन्दरगाहले काठमाडौं अन्तर्राष्ट्रिय व्यापारको हब बन्छ’


1.1k
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन काटेर तीन मालबाहक सवारीसाधनलाई प्रवेश गराई बन्दरगाहको उद्घाटन गरेका हुन् ।

उक्त समारोहमा प्रधानमन्त्री देउवाले नेपालकै पहिलो सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौँलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे ।

निर्यात व्यापारलाई सहजीकरण गर्न यसको भूमिका विशेष रहने र भन्सार जाँचपास, क्वारेन्टिनलगायतका सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुग्ने प्रधानमन्त्रीले विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले व्यापारलाई सहजीकरण गरी पारदर्शीता अभिवृद्धिमार्फत निर्यात प्रवर्द्दनमा पनि बन्दरगाहले सहयोग पुग्ने बताए ।

बन्दरगाहले काठमाडौँ उपत्यकाबाट हुने व्यापारलाई थप सहजता प्रदान गर्न र वस्तु वा सेवाको लागत घटाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउने उनको भनाइ छ ।

नेपालको वैदेशिक व्यापारमा उच्च पारवहनमा झन्झटिलो प्रशासनिक प्रक्रिया अझै समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न यस प्रकारका गुणस्तरीय व्यापार पूर्वाधारले मद्दत गर्ने प्रधानमन्त्री देउवाले बताए ।

‘मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलितरूपमा विकास गर्दै व्यापार पूर्वाधार व्यवस्थापन र प्रतिस्पर्धी बनाउन सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी महत्वपूर्ण संरचना हो’, प्रधानमन्त्री देउवाले भने, ‘यसलाई आत्मसात गरी सरकारले मुलुकका विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण र छिमेकी मुलुकको सीमा क्षेत्रमा जोडिएको नाका र भन्सार कोरिडोरको स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको छ ।’

उनले आर्थिक वृद्धिको इञ्जिन मानिने अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा यस प्रकारका संरचना निर्माणको खाँचो रहेको औँल्याउए ।

प्रधानमन्त्री देउवाले नेपालको औद्योगिक वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निर्यातमार्फत व्यापार घाटा कम गर्न सकिने बताए । साथै स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने र त्यसले देशमा औद्योगिक विकास र रोजगारीको सिर्जनामा सहयोग पुग्ने धारणा राखे ।

मुलुकमा लगानी र औद्योगिक विकासको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको, आवश्यक पर्ने नीतिगत र प्रक्रियागत संरचनाको सुधारका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने समारोहमा प्रधानमन्त्रीले विश्वास दिलाए ।

वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई सरलीकरण र न्यूनीकरण गर्दै लैजानु पनि जरुरी रहेको प्रधानमन्त्री देउवाले बताए । त्यसका लागि सरकार समस्या समाधान गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ रहेको छ ।

व्यापार घाटा कम गर्न नेपालको प्रतिस्पर्धात्मक क्षमता भएको स्वदेशी कच्चापदार्थमा आधारित उत्पादनशील क्षेत्रमा लगानी बढाई निर्यात क्षमता बढाउने र अनुत्पादक र विलासिताका वस्तुलाई व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण उद्योग व्यवसायीलाई आह्वान गरे ।

प्रधानमन्त्री देउवाले यस पूर्वाधारको पूर्ण क्षमतामा सञ्चालन गरी कुशल व्यवस्थापन गर्न सकिए उद्देश्य पूरा हुनेसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्