
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ किरात चोककी कविता सुनुवारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान ट्युसन जाने क्रममा हत्या गरिएकी १५ वर्षीया सुनुवारको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले भारतको सिक्किम घरभई हाल बेलका–३ मा बस्दै आएका १९ बर्षिय बिनोद ढकाल र बेलका–३ बस्ने १७ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरु नाताले दाजु–बहिनी हुन् ।
कविताका साथीसमेत रहेका उनीहरुले नै कविताको हत्या गरेको प्रहरीको आशंका रहेको छ । हत्याको कारण भने अहिलेसम्म खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
कविता बिहान ४ बजे घरबाट अतिरिक्त कक्षाका लागि विद्यालय गएकी थिइन् । उनको शव स्थानीयले ७ बजे जसोधा खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।














